दाङमा ४३ मतदान केन्द्र थपिए

दाङ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन् ।

जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ । यसअघि ३५१ वटा मतदान केन्द्र रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तुलसीपुर उपमहानगरपालिकामा १० तथा लमही नगरपालिकामा र राप्ती गाउँपालिकामा छ/छ वटा मतदान केन्द्र थपिएका छन् ।

गढवा र दंगीशरण गाउँपालिकामा तीन/तीन तथा बबई, राजपुर र शान्तिनगरमा एक/एक वटा मतदान केन्द्र थपिएका छन् । जिल्लामा मतदानस्थलको संख्या १५१ वटा कायम गरिएको छ ।

यसअघि स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल र ३५१ मतदान केन्द्र निर्धारण गरिएको थियो । स्थानीय तह निर्वाचनका लागि दुई लाख ९१ हजार १७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । अहिले ४७ हजार ७८१ मतदाता थपिएसँगै ४३ वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।

जिल्लामा तीन लाख ३८ हजार ९५३ मतदाता रहेका छन् । एक लाख ७२ हजार ८३३ महिला र एक लाख ६६ हजार ११८ पुरुष मतदाता रहेका छन् ।

घोराही उपमहानगरपालिकामा १५ हजार ८१० मतदाता, तुलसीपुर उपमहानगरमा १० हजार २०९, लमही नगरपालिकामा पाँच हजार १५५, गढवा गाउँपालिकामा तीन हजार ३८२, दंगिशरण गाउँपालिकामा एक हजार ६३० तथा बंगलाचुली गाउँपालिकामा एक हजार ४०७ मतदाता थपिएका छन् ।

त्यसैगरी, बबई गाउँपालिकामा एक हजार ८६६, राजपुर गाउँपालिकामा एक हजार ८९२, राप्ती गाउँपालिकामा पाँच हजार १६३ तथा पश्चिम शान्तिनगर गाउँपालिकामा एक हजार ७८१ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Published : Tuesday, 2017 October 31, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया