एनआइसीको ५० करोड गायव

काठमाडौं । ह्याकरहरूले नयाँ बाटो अपनाएर बैंकको रकम चोरी गरेको घटना सार्वजनिक भएको छ । प्रारम्भिक अनुसन्धानमा एनआइसी एसिया बैंकको रकम चोरी गरी विदेशका बैंकमा लगेर जम्मा गरिएको देखिएको छ ।

बैंकको स्विफ्ट नेटवर्क ह्याक गरेर जापानसहित ६ वटा देशका बैंकमा रकम स्थानान्तरण गरिएको प्रारम्भीक अनुसन्धानबाट खुलासा भएको छ ।

एनआइसी एसियाको स्विफ्ट ह्याक गरेर स्थानान्तरण गरिएको भनिएका बैंकहरूमा राष्ट्र बैंक र एनआइसीले भुक्तानी रोक्न पत्राचार गरिसकेका छन् ।

यसमध्ये कतिपयले रकम भुक्तानी भइसकेको जनाएका छन् भने केहीले स्थानान्तरण गर्न दिएको निर्देशनलाई स्थगित गरिदिएका छन् ।

बैंक स्रोतका अनुसार हल तिहारका दिन स्विफ्ट ह्याक गरिएको थियो । उक्त दिन विदा हुँदा स्वीफ्टमा के भइरहेको छ भन्ने यकिन नहुनु र आइतबार विदेशी बैंकहरू बन्द हुँदा ह्याकरले दिएको निर्देशन कार्यान्वयन नगर्न गरिएको अनुरोध पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा बैंकबाट बाहिरिएको रकममध्ये के कति भुक्तानी गरियो भन्ने यकिन हुन सकेको छैन ।

स्रोतका अनुसार एनआइसी एसियासँगै अन्य ६ वटा बैंकको स्विफ्ट पनि ह्याक भएको आशंका छ । यद्यपी अन्य बैंकहरूले भने यस बारेमा राष्ट्र बैंकलाई जानकारी गराएका छैनन् ।

राष्ट्र बैंकले ह्याकरले रकम स्थानान्तरण गरेको बारे अनुसन्धान गर्न आफ्नो टोली एनआइसी एसिया पठाइसकेको छ ।

शनिबार एनएमबी बैंकको स्विफ्ट नेटवर्कमार्फत् विदेशी बैंकहरूमा रहेको अकाउन्ट ह्याक गरिएको हल्ला चले पनि एनआइसी एसियको चाहिं विदेशी बैंकहरूमा रहेका एकाउन्ट स्विफ्टमार्फत् ह्याक गरी रकम अन्य बैंकहरूमा ट्रान्सफर गरिएको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ । बैंकको कति रकम स्थानान्तरण भयो भन्ने विषयमा भने छानबिन भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैक खुल्नेवित्तिकै सम्बन्धित बैंकहरूको सुपरिपेक्षण सुरू गरिसकेको जनाएको छ । स्रोतका अनुसार एनआईसी बैंकको ५० करोड रूपैंया स्विफ्ट नेटवर्कमार्फत ह्याकरहरूले बिदेशी बैंकमा पु-याएका छन् ।

नेपालमा यो घटना पहिलो भए पनि ह्याकरहरूले विदेशमा भने यसरी रकम स्थानान्तरण गरिसकेका थिए । यसअघि स्विफ्ट नेटवर्कमार्फत सन् २०१६ मा बंगलादेश बैंकको फेडरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको बैकबाट ८१ मिलियन रकम यसैगरी चोरी भएको थियो ।

विदेशी बैंकमा पैसा जम्मा गर्नका लागि प्रयोग गर्ने स्विफ्ट नेटवर्कमार्फत एकाउन्ट ह्याक गरी पैसा ट्रान्सफर भएपछि वित्तीय क्षेत्रको अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक संस्था स्विफ्टको विश्वसनीयतामा पनि प्रश्न उठेको छ ।

नेपाल राष्ट्र बैंकले अध्ययनपश्चात् नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी) मार्फत कारबाही प्रक्रिया अघि बढाउने जनाए पनि यो समाचार तयार गर्दा सम्म सिआइबीमा भने कतैबाट पनि औपचारिक रूपमा अनुरोध नआएको ब्यूरोले जनाएको छ ।

Published : Tuesday, 2017 October 24, 7:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया