देवी ज्ञवालीले ‘प्रचण्ड’लाई पराजित गरेर बदला लिने, लिक भयो भिडियो

काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर पदमा पराजित एवम् एमाले चितवनका नेता मंसिरको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देखाइ दिने चेतावनी दिएका छन् ।

चितवनमा केही हप्ता अगाडि चितवन एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता ज्ञवालीले प्रचण्ड र माओवादीलाई प्रतिनिधि र प्रदेश सभामा हराईदिने चेतावनी दिएका हुन् । ‘एउटा माघले मात्रै जाडो जाँदैन । माघ त फेरि पनि आउँछ’, ज्ञवालीले प्रचण्डलाई चेतावनीयुक्त शैलीमा भनेका छन्, ‘यस पटक त माघै लाग्नु पर्दैन मंसिर मै चुनाव छ ।’

आफूलाई भरतपुरमा हराउन प्रचण्डले सुनको सिक्री बितरण गरेको आरोप लगाएका एमाले नेता ज्ञवालीले भने, ‘देवी ज्ञवालीले झण्डै ३ सय मतले जित्ने भएपछि बालुवाटारमा बैठक बस्यो । बैठकमा वकिलहरू राखियो । अब के गरी देवी ज्ञवालीलाई हराउने भनेर योजना बन्यो । रमण श्रेष्ठ महान्यायाधीवक्तालाई त्यहाँ राखियो । उनले त्यो ऐन पल्टाए । ऐनका गलत प्रयोजनलाई हेरेर मतपत्र च्यात्ने । च्यातेपछि कब्जा भन्ने कुरा लेख्न लगाउने । अनि निर्वाचन आयोगलाई धम्काउने ।’

ज्ञवालीले भनेका छन्, ‘अदालतमा मुद्दा हाले छन् भने नेविसंघको हिजोको उपाध्यक्षलाई हामीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश (गोपालप्रसाद पराजुली) बनाइ हालेका छौँ । त्यहाँ पनि धम्काउने । जसरी पनि छोरीलाई जिताउने ।’

‘मसँग चुनावमा २ सय ६० मतले हारेकी रेणु अनेकौ धाँधली गरेर अर्बौं रुपियाँ खर्च गरेर दोस्रो चरणमा अदालतलाई किनेर, निर्वाचन आयोगलाई किनेर जिताइयो’, उनले भनेका छन्, ‘म शारदानगरमा सावित्री गुरुङलाई भेट्न गएको थिएँ । त्याहाँ अर्की बहिनी आएकी थिइन् । दिदीले बहिनीलाई सोध्नु भयो । बहिनी कहाँ भोट हालेको । ती बहिनीले घाँटीमा सिक्री देखाउँदै मैले त यही सिक्रीमा हालेको भनिन् । मलाई जसले सिक्री दियो त्यसैलाई हालिदिए । एउटा भोट मान्छे–मान्छेलाई सिक्री बाँडेर किन्ने धाँदली गरे हराए ।’

अत्यन्तै आवेगमा एमालेका कार्यकर्तालाई सम्बोधन गरेका ज्ञवालीले भनेका छन्, ‘महाभारतमा धृतराष्ट्र भन्ने एउटा पात्र छन् । तीन धृतराष्ट्र भन्ने मान्छे अन्धा छन् । उनको बैगुन के थियो भने आफ्ना छोराहरूले जे गरे पनि त्यो सहि । जतिसुकै बदमासी गरे पनि । आफ्ना सन्तानका लागि ढाकीदिने बोकीदिने । ठीक गर्‍यो भन्ने । त्यसैले महाभारतको लडाइँ भएको हो ।’

धृतराष्ट्रको गलत पुत्र मोह र ठीक–बेठिक नदेखेका कारणले बिबेक भएको मान्छे पनि आँखा हुँदा पनि अन्धो हुने उनको भनाइ छ । ‘जसले ठीक–बेठिक छुट्याउँदैन त्यो मान्छे आँखा भएर पनि अन्धो हुन्छ । धृतराष्ट्र त्यस्तै अन्धा थिए’, उनले भनेका छन्, ‘नेपाली राजनीतिमा अर्को धृतराष्ट्र जन्मिएको रहेछ त्यो हो पुष्पकमल दाहाल ‘प्रचण्ड’ । त्यसैले आफ्ना सन्तानको लागि निर्वाचन विधि तोडेर अन्धो ढंगले मलाई हराए । केही बात छैन । चुनाव एक पटक मात्रै होइन ।’

‘जनतालाई धाँदली गरेर जितेर मान्छे कुर्सीमा बसेर सिधा हेर्न सक्दैन’, उनले भनेका छन्, ‘रेणुले जितेर के गर्ने जसले ठाडो शिरले हेर्न सक्दैन । जसले गर्वसाथ कुरा गर्न सक्दैन । मैले कुर्सीमा बसेर साइन गर्न पाइन तर देवी ज्ञवाली जनताको दिलदिलमा बसेको छ । अब कांग्रेस र माओवादी एकीकरण गरे हुन्छ ।’

(देवी ज्ञवालीले कार्यक्रममा दिनुभएको अभिव्यक्तिको भिडियो रिपब्लिका दैनिकसँग सुरक्षित छ)

Published : Friday, 2017 October 20, 2:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया