घटुवामा परेका मन्त्रीहरू कता बेपत्ता ? तयार भयो २१८ नं. कोठा

काठमाडौं । एमालेसँग वाम गठबन्धन बनाएपछि घटुवामा परेका माओवादी केन्द्र मन्त्रीहरू बुधबार सिंहदरबार गएका गएका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार जिम्मेवारी खोसेर बिनाविभागीय मन्त्री बनाएपछि माओवादीका मन्त्रीहरू सिंहदरबार नगएका हुन् ।

माओवादी केन्द्रका मन्त्रीहरूबाट खोसिएका मन्त्रालयको जिम्मेवारी राप्रपाका नयाँ मन्त्रीहरूलाई दिइएको छ । गृह सहितका महत्वपूर्ण मन्त्रालय प्रधानमन्त्री देउवा आफैले राखेका छन् ।

राप्रपाका मन्त्रीहरू भने बुधबार मन्त्रालय पुगेर जिम्मेवारी लिई धमाधम काम गर्न थालेको स्रोतले जनाएको छ ।

सिंहदरबार नगएका माओवादी मन्त्रीहरू ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरमा बसेको स्रोतले जनाएको छ । माओवादी मन्त्रीहरू उपप्रधान एवम् विनाविभागीय मन्त्री कृष्णबहादुर महराको निवासमा जम्मा भएर प्रधानमन्त्री देउवाको कदम विरुद्ध कसरी सामना गर्ने भनेर योजना समेत बनाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता एवम् सह–सचिव हरिप्रसाद पन्थीले बिनाविभागीय मन्त्रीहरूलाई प्रधानमन्त्री कार्यालयमा बस्ने व्यवस्था मिलाइएको बताए । उनले भने, ‘बस्ने व्यवस्था मिलाएका छौँ । अरु कुनै पनि आदेश नआएकाले विनाविभागीय मन्त्रीहरूका बारेमा अरु के–के गर्ने भन्ने केही गरिएको छैन ।’

मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार विनाविभागीय मन्त्रीहरू बस्नका लागि मन्त्रिपरिषद कार्यालयको २१८ नम्बर कोठमा कुर्सी, टेबुलको व्यवस्था गरिएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेसँग माओवादी केन्द्रले वाम गठबन्धन गरेर पार्टी एकीकरणको तयारी गरेपछि रिसाएका देउवाले मंगलबार माओवादी मन्त्रीहरूलाई बर्खास्त गर्नुको साटो विनाविभागीय बनाएर घटुवा गरिदिएका थिए ।

घटुवा हुँदा समेत माओवादीका मन्त्रीहरू सरकार छाड्ने सोँच बनाएका छैनन् । उनीहरूले सरकारले मन्त्री हुँदाका अवस्थामा दिने सबै सुविधान लिएर मन्त्री पदमा टाँसिएर बसिरहने बताएका छन् ।

विनाविभागीय मन्त्री शिवकुमार मण्डलले मन्त्री पदमा बसिरहने बताए । ‘यो सरकार देउवाको विर्ता हो र ? हामीले मन्त्री पद छाड्दैनौँ’, उनले नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग भने, ‘सबै सुविधा लिन्छौँ ।’ सो क्रममा विनाविभागीय मन्त्री मण्डलले प्रधानमन्त्री देउवाविरुद्ध तल्लो तहका शब्दावली प्रयोग गरेर गाली गरेका थिए ।

Published : Wednesday, 2017 October 18, 5:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया