गुन्डा नाइके एवम् एमाले नेता मनाङगे फेरि फसे, व्यक्ति अपहरण गरेको खुलासा

काठमाडौं । ‘गुन्डानाइके’ एवम् एमालेका नेता दीपक मनाङगेको समूहले मनाङबाट एक जना व्यवसायीलाई अपहरण गरेर फिर्ता रकम माग गरेको खुलासा भएको छ ।

मनाङगेको समूहले गत शनिबार राति ११ बजे मेथास्थित एक होटलमा बास बसेका ४ जनामध्ये नार फु गाउँपालिकाका कर्मा लाक्पा लामाको अपहरण गरेका हुन् ।

होटलमा सँगै बास बसेका अन्य ३ जना लोप्साङ फुम्जो, धोर्जे लामा, गणेश घले र टासी लामा ज्यान जोगाएर भागेका थिए । कर्मा लाक्पा लामा र टासी लामासँग रहेको १० लाख रुपैयाँ मनाङगे समूहका युवाले लुटेका थिए ।

मनाङमा होटल खोल्न भन्दै उनीहरू काठमाडौंबाट सोही दिन त्यहाँ पुगेका थिए । कर्मा लाक्पालाई मेथाबाट रातभर हिडाएर उनीहरूले नार लगेको स्थानीयले बताएका छन् ।

घटनाको भोलिपल्ट कर्मा लाम्पा अपहरणमा परेको हल्लीखल्ली भएपछि मनाङगे आफैँ नार पुगेर १० लाख रुपैयाँ र कर्मालाई प्रहरी चौकीमा बुझाएका थिए ।

अपहरणमा परेका कर्माले आफूलाई दीपक मनाङगे समूहले अपहरण गरेर रातभर नियन्त्रणमा लिइ थप रकम मागेको भन्दै चामेस्थित जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी वीरबहादुर पुलामीले दीपक मनाङगेको समूहले अपहरण गरेको विषयमा थप अनुसन्धान भइरहेको बताएका छन् ।

एमालेमा प्रवेश गरेका मनाङगे प्रदेश सभाको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । गुन्डा नाइके मनाङगेलाई एमालेले टिकट दिने अन्तिम तयारी गरेको स्रोतको भनाइ छ ।

Published : Wednesday, 2017 October 18, 2:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया