देउवाले लिए एक्सन, को बन्यो गृह मन्त्री ? ओलीको पछि लाग्दा ‘प्रचण्ड’लाई धक्का

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर विनाविभागीय मन्त्रीको जिम्मेवारी दिएका छन् ।

आसन्न चुनावमा विपक्षी दल एमालेसँग तालमेल र पार्टी एकीकरणको सहमति गरेको माओवादीले नैतिकताका आधारमा सरकारबाट हट्न प्रधानमन्त्री देउवाले गरेको आग्रह विपरित सरकारबाट नहट्ने अडान माओवादीले लिएपछि उसका मन्त्रीहरूलाई जिम्मेवारी विहीन बनाएका हुन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी निर्णय बमोजिम आफनो दलका मन्त्रीहरू सरकारबाट नहट्ने जानकारी गराएपछि अपरान्ह ५ बजे प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल पुनर्गठन र मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका हुन् ।

माओवादीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासहित ९ जना मन्त्री र ८ जना राज्यमन्त्रीहरूलाई कुनै मन्त्रालयको जिम्मेवारी नदिएर विनाविभागीय मन्त्रीको रुपमा राखिएको छ ।

उनीहरूले सम्हाल्दै आएका मन्त्रालयमध्ये हालै सरकारमा सहभागी हुन पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधान तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि उक्त मन्त्रालयमा माओवादीका महेन्द्रबहादुर शाही रहेका थिए ।

माओवादीका नेता प्रभु साहले चलाउँदै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा नेता दिलनाथ गिरीलाई, आपूर्ति मन्त्रालयमा राप्रपाकै जयन्त चन्दलाई र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय विक्रमबहादुर थापालाई दिइएको छ ।

माओवादी नेता गिरिराजमणि पोखरेलले चलाउँदै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा राप्रपा प्रजातान्त्रिकका नेता दीपक बोहोरालाई दिइएको छ ।

माओवादी नेता जनार्दन शर्माले चलाउँदै आएको गृहमन्त्रालयसहित अन्य मन्त्री खाली रहेका सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैँले राखेका छन् ।

Published : Tuesday, 2017 October 17, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया