प्रहरीभित्रै फेला परे अर्का नवराज सिलवाल, एसपीले हल्लाए प्रहरी मुख्यालय

काठमाडौं । कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्द आफ्नै संगठनको निर्णयविरुद्ध अदालत पुगेका छन् ।

कञ्चनपुरको शान्ति सुरक्षा कमजोर भएको र आर्थिक हिनामिना समेत गरेको भनेर विवादमा मुछिएका एसपी चन्दले प्रहरी प्रधान कार्यालयले गरेको सरुवा निर्णयविरुद्ध उच्च अदालत दिपायलमा रिट दायर गरेका हुन् । यो नेपाल प्रहरीको इतिहासमा पहिलो घटना हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेवारीमा रहेका एसपी चन्दको गत साता प्रहरी मुख्यालयले सरुवा गरेको थियो । उनको ठाउँमा पठाइएका एसपी डिल्लीराज विष्ट हाजिर हुन कञ्चनपुर पुगे । तर, चन्दले ठाउँ नछाडेपछि अहिलेसम्म पदभार ग्रहण गर्न पाएका छैनन् ।

प्रहरी मुख्यालयले निर्वाचन आयोगसंग स्वीकृति लिएर विष्टलाई रमाना समेत दिइसकेको बेला एसपी चन्द भने आचारसंहिता विपरित भएको आफ्नो सरुवा रोकिपाऊ भन्दै अदालत पुगेका हुन् । चन्दले प्रहरी मुख्यालय र मानव स्रोत विकास प्रशासन उपशाखा काठमाडौंलाई विपक्षी बनाएका छन् । उनले आफ्नो सरुवा नियम विपरित भएको भन्दै अन्तरिम आदेशको माग समेत गरेका छन् ।

यसअघि आईजीपी बढुवा प्रकरणमा असहमति जनाउँदै डिआईजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका थिए । सिलवालले अदालतबाट मुद्दा हारेपछि डिआईजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । उनै सिलवालको पदचाप पछ्याउँदै एसपी चन्द सरुवा रोकी पाउँ भनेर आफ्नै प्रहरी संगठनविरुद्ध मुद्दा हाल्न पुगेका छन् ।

चन्दको निवेदनमा सुनुवाई गर्दै उच्च अदालत दिपायलका न्यायाधीश वीरेन्द्र कुमार कर्णको एकल इजलासले दुवै पक्षलाई छलफलका लागि कात्तिक ८ गते बोलाउने निर्णय गर्दै हाललाई रमाना नदिन आदेश दिएको छ ।

स्रोतका अनुसार एसपी चन्दको कार्यक्षमता कमजोर भएको, आर्थिक रुपमा समेत बिवादमा आएको, युवतीकाण्डमा फसेको, पत्रकार थुनेको भन्दै मुख्यालयले उनको सरुवा गरी आगामी मंसिरमा हुने निर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउने जिम्मासहित एसपी विष्टलाई कञ्चनपुर पठाएको थियो । एसपी चन्द अनिवार्य अवकासमा जान ३ महिना मात्रै बाँकी छ । यो अवधिमा उनले कमाउधन्दा चलाउनका लागि प्रहरी संगठनविरुद्ध अदात पुगेको स्रोतको दाबी छ ।

चन्द प्रहरी प्रमुख भएको एक वर्षभन्दा बढीको अवधिमा कञ्चनपुरमा आधा दर्जनभन्दा बढी हत्याका घटना भएका छन् भने शान्ति सुरक्षाको स्थिति पनि खस्किएको छ । साथै अहिलेसम्म कुनै घटनाको अनुसन्धानले ठोस तथ्य भेटाउन समेत सकेको छैन् ।

चन्दको कार्यक्षमता कमजोर भएको र शान्ति सुरक्षा नै कमजोर भएको गुनासो आएपछि प्रहरी मुख्यालयले उनको सरुवाको लागि लामो समयअघिदेखि पहल गरेपनि निर्वाचन आयोगको आचारसंहितको कारण उनको सरुवा रोकिएको थियो ।

रोचक कुरा त के छ भने कञ्चनपुर छाड्न नमानेर सरुवाविरुद्ध अदालत पुगेका एसपी चन्द अबको ३ महिनापछि ३० वर्षे सेवाअवधीका कारण अनिवार्य अवकासमा जाँदैछन् । तर, यो बीचको तीन महिनामा चुनाव लगायत महत्वपूर्ण घटनाहरू हुने भएकाले त्यसमा लाभ लिन उनले कञ्चनपुर छाड्न नचाँहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरनिकट स्रोतको दाबी छ ।

Published : Tuesday, 2017 October 17, 2:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया