शेष घलेकी पत्नी अध्यक्षमा पराजित, भवनले मारे बाजी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।

काठमाडौंमा भएको आठौँ विश्व सम्मेलनमा अध्यक्षकी उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले एक हजार १९७ मत प्राप्त गरेका छन् ।

गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन् ।

अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताए । अब सबैलाई साथ लिएर अघि बढ्ने उनको भनाइ थियो । निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए ।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

Published : Tuesday, 2017 October 17, 8:01 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया