सात करोडले एमालेभित्र बबण्डर, कार्की–बस्नेतले झ्वाम पारेको खुलासा

काठमाडौं । वामपन्थी गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेले असोज २९ गते बुझाएको समानुपातिकतर्फको उमेदवारको बन्द सूची वास्तविक सूची नभएर केवल डमी सूचीमात्र बन्न पुगेको छ । यो सूची डमीमात्र बन्नमा धेरैको नाम सिफारिस भएको बाहेक अर्को ठूलो रहस्य रहेको बाह्रखरीलाई एमालेका एक उच्च सुत्रले जानकारी गराएका छन् ।

एमालेले उमेदवारको टुंगो लगाउन आइतबार बिहान आठबजे अध्यक्ष ओलीको निवास बालकोटमा स्थायी कमिटीको बैठक बोलाएको थियो । सो बैठक भैसेपाटीमा पनि शुक्रवार बेलुका बसेको थियो, तर तोकिएको भन्दा आठ गुणा बढीसम्म नाम आएको कारण आइतबार विहान फेरि बस्नेगरी बैठक सारिएको थियो । आइतबार बिहानै उपसभामुख गंगाप्रसाद यादव एमाले प्रवेश गरेका कारण बैठक दुई तीन घन्टा पर धकेलियो । अन्ततः बैठक बसेपनि ६ करोड कता गयो भन्ने मुद्दा उठेकाले निर्णयभन्दा बढी खैलाबैला भएको कुरा स्रोतले जनाएको छ ।

बैठकमा जब विषयान्तर भयो

बिहान ८ बजे बोलाइएको बैठक मध्याह्न १२ बजे सुरू भयो । बैठक बसेर सूची टुंग्याउनैपर्ने भएपछि प्रदेश प्रमुखहरूले नाम सर्टिङ गरेर ल्याएका थिए । तर, बैठकको सुरूवातमै वरिष्ठ नेता माधव कुमार नेपालले ‘ पार्टीको नाममा सहयोग आएको ६ करोड खै ?’ भनेपछि बैठकमा विषय मोडिएको मात्र हैन पुरै खैलाबैला नै भयो ।

स्रोतका अनुसार केही सयमअघि एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले एमालेलाई ६ करोड सहयोग बुझाएका थिए । तर त्यो पैसा शनिबारसम्म पनि पार्टीको खातामा जम्मा नभएपछि नेता नेपालले सबैको अगाडि सो प्रसंग निकालेका थिए । यो कुरा उठेपछि बैठक अर्कै विषयमा मोडिएको थियो ।

अध्यक्ष ओलीले यो विषय यहाँ नउठाउँ भनेर टार्ने प्रयत्न गरे पनि नेता नेपालले ६ करोडको फेहरिस्त मागिरहे ।

कहाँ गयो ६ करोड ?

स्रोतकाअनुसार सो सहयोग रकममध्ये दुई करोड पार्टी पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री युवराज कार्कीले र दुई करोड पूर्वमन्त्री महेश बस्नेतले लगेको जवाफ दिए पनि अध्यक्ष ओलीले त्यसबाहेकको दुई करोड यहाँ छ भन्न सकेनन् । बरु बारम्बार यो विषय पछि उठाउँ, अहिले समानुपातिकको सूची टुंग्याउँ भन्दै पन्छाउन खोजे ।

तीन घन्टा बढी गलफती गरे पनि ६ करोड काण्ड नसुल्झिएपछि एमाले बैठक समानुपातिकको सूची टुंग्याउने विषयतिर त अघि बढ्यो । तर, समय घर्किसकेको थियो ।

बैठकका उपमहासचिव घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अन्तिम समयसम्म पनि नामावली टुंगाउन नसकेको भन्दै बैठकमा आलोचना गरेका थिए ।

पछि सच्याउने गरी तत्काललाई प्रदेश प्रमुखले टिपाएका नाम समेटेर एमालेले सूची बुझायो आइतबार । भुसालसहित नेता नेपाल पक्षधरहरूले संस्थागत छलफल हुने छाडेको र समानुपातिक उमेदवारजस्तो विषय पनि गुपचुप राखिएको भन्दै असन्तुष्टि पोखेका थिए ।

भवन भट्टले पनि भेटे ओलीलाई

गैरआवासीय नेपाली संघ एनआरएनको अधिवेशन चलिरहेका बेला भवन भट्टले एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए ।उनकाअनुसार अध्यक्ष ओलीले उनलाई समानुपातिक उमेदवार बनाउने वचन दिएको स्रोतको दाबी छ । त्यहाँ पनि रकम चलखेल भएको हुनसक्ने आशंका एमालेमा नेपाल पक्षका नेताहरूले गरेका छन् ।

पैसा कान्ड पहिलो होइन

०७० को निर्वाचनमा पनि व्यावसायिक घरानाकी राज्यलक्ष्मी गोल्छालाई पैसा लिएर समानुपातिकको सूचीमा राखेको र सांसद् नै बनाएको भन्दै चर्को आलोचना भएको थियो ।

त्यस्तै गत स्थानीय तहको निर्वाचनमा मोरङमा टिकट बिक्री गरेको भन्दै उजुरी परेपछि एमाले वैकल्पिक केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठ कारवाहीस्वरूप पार्टी मुख्यालयमा तानिएका छन् । उनी मोरङ सह–इञ्चार्ज हुन् ।

त्यस्तै सोही प्रकरणमा एमाले सचिव एवम् १ नम्बर प्रदेश प्रमुख भीम आचार्यसमेत मुछिएका छन् ।

पैसा मागेको अडियो टेपसहितको उजुरी पार्टी अनुशासन आयोगमा दर्ता गरेको भए पनि महासचिव ईश्वर पोखरेलसमेत लागेर त्यो विषय त्यसै टुंग्याइएको भन्दै आलोचना भएको थियो ।

(बाह्रखरी डटकमबाट साभार)

Published : Tuesday, 2017 October 17, 7:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया