गुन्डा नाइके मनाङ्गे एमालेबाट उम्मेदवारमा सिफारिस

काठमाडौं । चर्चित गुन्डा नाइके दीपक मनाङ्गे अर्थात राजिव गुरुङलाई नेकपा (एमाले)ले प्रदेश सभाकालागि उम्मेदवारमा सिफारिस गरेको छ ।

एमालेको मनाङ जिल्ला कमिटीले गुन्डा नाइके मनाङ्गेलाई मनाङ– १ बाट प्रदेश सभाको सदस्यमा उम्मेदवारमा सिफारिस गरेको हो ।

प्रहरीको खोजी सूचीमा रहेका मनाङ्गे राजनीतिक संरक्षणका लागि एमालेमा प्रवेश गरेको स्रोतले जनाएको छ ।

राप्रपा मनाङ जिल्लाको अध्यक्ष रहेका मनाङ्गे केही दिन अगाडि दलबलसहित एमालेमा प्रवेश गरेका हुन् । मनाङ्गेलाई प्रदेश सभाको टिकटका लागि सिफारिस गरेपछि मनाङमा लामो समयदेखि संगठन गर्दै आएका नेता कार्यकर्ता रिसाएका छन् ।

स्थानीय तहको निर्वाचनभन्दा अगाडि सुरक्षालाई ख्यालमा राखेर काठमाडौं प्रहरीले गुन्डा नाइके मनाङ्गेलाई पक्राउ गरेको थियो । खोजीको सूचीमा रहेका मनाङ्गेलाई अब प्रहरीले नै सुरक्षा दिनुपर्ने भएको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रविन्द्रबहादुर धानुक प्रमुख बनेर आए लगत्तै गुन्डा नाइके मनाङ्गेका दुश्मन अर्का गुन्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे’ पक्राउ परेका थिए ।

यता सुरुदेखि नै एमालेमा लागेका मिलन चक्रे भने प्रहरीबाट छुटे लगत्तै बिदेश गएका छन् । चक्रे केही समय बिदेश बसेर फर्कने र गोरखामा बाबुराम भट्टराईलाई चुनावमा सघाउने सहमति भएको स्रोतले जनाएको छ ।

मनाङ्गे बिगतदेखि नै ठमेल क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहँदै आएका छन् । मनाङ्गे पछिल्लो समय जडिबुटी तस्करी, सुन तस्करीदेखि ठेक्कापट्टामा संलग्न रहेको प्रहरीमा रेकर्डमा उल्लेख छ ।

Published : Wednesday, 2017 October 11, 8:33 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया