लागूऔषधिसहित भारतीय नागरिक मकवानपुर प्रहरीको फन्दामा

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२ लाख मूल्य बराबरको लागूऔषधसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले असोज १५ गते हेटौँडा उपमहानगरपालिका– १५ स्थित रातोमाटे चेकपोष्टबाट भारतीय नागरिक विजयकुमार कपूरलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट हेटौँडा हुँदै काठमाडौं जान लागेको ना. ६ ख ८९६८ नम्बरको यात्रु बाहक बसमा चेकजाँच गर्दा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नं. ११ बस्ने ८२ वर्षीय कपूरमाथि शंका लागेर खानतलासी गर्दा लागूऔषध बरामद भएको मकवानपुर प्रहरी प्रमुख विकास खनालले जानकारी दिए ।

भारतीय नागरिक कपूरले सुटकेशभित्र २३ वटा पोकामा टेपले बेरेर कालो रङको प्लाष्टिकमा लुकाई छिपाई नियन्त्रित लागूऔषध ल्याएका थिए ।

कपूरसँग डाईजेपाम ८०० एम्पुल, फेनारागन ८०० एम्पुल र ब्यूपोनर्फिन ८०० एम्पुलसहित २४०० एम्पुल बरामद गरिएको एसपी खनालले बताए ।

भारतीय नागरिक कपूरलाई लागूऔषध ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु भएको छ ।

प्रारम्भीक अनुसन्धानमा कपूरले काठमाडौं कंलकीमा लगेर लागूऔषधलाई १२ लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएको खुल्न आएको एसपी खनालले बताए ।

यसैबीच, मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका – १० बसपार्कबाट २१ वर्षीय सन्तोष दाहाललाई नियन्त्रणमा लिएको छ ।

दाहालको गतिविधिमाथि शंक लागेर खानतलासी गर्ने क्रममा नियन्त्रित लागूऔषध डाईजेपाम ४४ एम्पुल, फेनारागन ४४ एम्पुल र ब्यूपोनर्फिन ४४ एम्पुल गरी जम्मा १३२ एम्पुल बरामद भएको थियो ।

दाहाल मोरङ जिल्लाको बेलबारी घर भै काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगल बस्दै आएका थिए ।

Published : Wednesday, 2017 October 4, 4:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया