यसरी हुँदैछ भित्रभित्रै एमाले र माओवादी फुटाउने खेल

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकीकरणको विषयले दुबै पार्टीभित्र फुटको बिजारोपण गरेको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादीले माग गरे जस्तो ६०–४० को कुनै भागबण्डा नभएको बताएका छन् ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा नेता खनालले भने, ‘माओवादी केन्द्र एमालेसँग एकता गर्न आउन लागेको हो । माओवादी केन्द्र नै नभएपछि के को ६०–४० को भागबण्डा ?’

उता, माओवादी केन्द्रका नेता गोपाल किरातीले एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको विरोध गरेका छन् ।

अध्यक्ष प्रचण्डले एकीकरणसम्बन्धि सातबुँदे प्रस्ताव प्रस्तुत गरेलगत्तै किराती विरोधमा उभिए । पार्टी एकताबारे प्रचण्डले केही समय गरेको ‘ब्रिफिङ’मा पनि उनले सहमति जनाएनन् ।

‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु’, किरातीले आफ्नो फेसबुक स्ट्याटसमा भनेका छन्, ‘माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु ।’

किराती माओवादी प्रवेश गर्नुअघि किरात वर्कर्स पार्टी गठन गरेर पूर्वी पहाडमा भूमिगत गतिविधिमा संलग्न थिए ।

माओवादी केन्द्रका मातृका यादव, मणि थापा र प्रभु साहले पनि एमालेसँगको चुनावी तालमेल र एकीकरण रुचाएका छैनन् ।

एमालेमा पनि बरिष्ठ नेता खनालका साथै अर्का वरिष्ठ नेता माधवकुमार नेपालसहितका प्रभावशाली नेताहरूले पनि ओली र प्रचण्डको सहमतिलाई रुचाएका छैनन् ।

उनीहरूले ओलीले एकलौटी रुपमा निर्णय गर्दै जाने हो भने एमालेलाई विभाजन गर्ने चेतावनी समेत दिएको स्रोतको भनाइ छ ।

Published : Tuesday, 2017 October 3, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया