मधेसमा हार्ने डरले यसरी आत्तियो एमाले, कांग्रेसविरुद्ध ‘गुन्डा’ परिचालन

काठमाडौं, १ असोज । एमालेका नेता तथा कार्यकर्ताले नेपाली कांग्रेस नगराइन नगरपालिकाका मेयर पदका उम्मेदवार परेश्वर यादवको घरमा सांघातिक आक्रमण गरेका छन् ।

धनुषा जिल्लाको नगराइन नगरपालिकामा कांग्रेसबाट मेयर पदमा उम्मेदवार बनेका यादवको घरमा एमालेका झण्डै एक सयको संख्यामा रहेका नेता तथा कार्यकर्ताले शनिबार मध्यराति १२ बजे सांघातिक आक्रमण गरेको कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘मेयर पदका उम्मेदवार परमेश्वर यादवको घरमा भएको सांघातिक आक्रमणप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ’, धनुषाका कांग्रेस सभापति रामसरोज यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाको वडा नं. ८ अकौरा टोलस्थित परमेश्वर यादवको घरमा गएराति करिब १२ बजे आक्रमण हुनु निन्दनीय रहेको छ ।’

कांग्रेसका नेता विमलेन्द्र निधिले एमालेले हार्ने डरले कांग्रेस उम्मेदवार र कार्यकर्ताको घरघरमा छिरेर कुटपिटमा उत्रिएको आरोप लगाए । उनले भने, ‘कांग्रेससँग हार्ने डरले एमाले सांघातिक आक्रमणमा उत्रिएको छ । एमालेका गुन्डाहरू घरघरमा प्रवेश गरेर आक्रमण गर्न थालेका छन् ।’

मेयर पदका उम्मेदवार यादव आफनो सम्पूर्ण परिवारसहित राति सुतिरहेको समयमा करिब डेढ सय जनाको समूहमा आएका एमाले कार्यकर्ताहरूले घरमा आक्रमण गरेको कांग्रेसले दाबी गरेको छ । ‘मदिरामा लठ्ठ रहेका एमाले नेता कार्यकर्ताहरू घरको मूल ढोका तोडफोड गरी ढुंगामुढा गरेको छ’, कांग्रेसले भनेको छ ।

स्थानीय तह निर्वाचनमा पराजय हुने डरले मतदान हुनु एक दिन पूर्व एमाले कार्यकर्ताहरूले रातिको मौका छोपी ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेका अरविन्द पासवान, धर्मेन्द्र पासवान, वीरेन्द्र राउत, दिनेश राउत, कञ्चन राउत, मुकेश राउत लगायतका एमाले कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गरिएको छ । मेयरका उम्मेदवार यादवको घरका साथै एमाले कार्यकर्ताहरूले कांग्रेस समर्थक राजेन्द्र यादवको घरमा समेत ढुंगामुढा गरेका छन् । उनीहरूले यादवको घरमा पार्किङ गरेर राखिएको एक मोटरसाइकलमा तोडफोड गरेको छ ।

एमाले कार्यकर्ताले गरेको आक्रमणमा परी कांग्रेसका स्थानीय देवेन्द्र यादव, विनोद यादव, रामगुलाम यादव, पुकारीदेवी यादव, राजन यादव, लगायतका व्यक्तिहरू घाइते भएका छन् ।

अकौरा उम्मेदवारको घरमा आक्रमण हुँदा पनि प्रहरी मुकदर्शक बन्नु दुःखद् भएको कांग्रेसले जनाएको छ । कांग्रेसले शान्ति सुरक्षाप्रति चिन्ता जनाउँदै निर्धक्क भएर मतदानको व्यवस्था मिलाउन गृहमन्त्रालयसँग आग्रह गरेको छ ।

उता, एमालेका नेता शीतल साहले कांग्रेसले नै आफूहरूमाथि ज्यादती गरेको दाबी गरेका छन् । ‘कांग्रेसले राज्य शक्तिको दुरुपयोग गरेर हाम्रा कार्यकर्ता र उम्मेदवारलाई घरबाट निस्कन दिएको छैन’, उनले दाबी गर्दै भने, ‘ज्यादती एमालेले होइन कांग्रेसले गरेको छ ।’

Published : Sunday, 2017 September 17, 4:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया