माओवादी मन्त्रीको क्रसर उद्योगमा बम विष्फोट

बारा । स्थानीय तह निर्वाचन विथाल्ने गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाराका सचिवालय सदस्य बिपी लामालाई पक्राउ गरेको छ ।

लामा पक्राउ परेपछि ‘नेकपा’ बाराका सेक्रेटरी चन्द्र प्रकाश र ईञ्चार्ज सञ्जीवनीले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर विनासर्त रिहाइको माग गरेका छन् । उनीहरूले लामालाई रिहाइ नगरिए कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी स्थानीय प्रशासन हुने चेतावनी दिएका छन् ।

यसअघि विभिन्न जिल्लाबाट प्रहरीले ‘नेकपा’का नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिसकेको छ ।

बारा जिल्ला सचिवालय सदस्य लामालाई प्रहरीले आइतबार साँझ निजगढ नगरपालिकास्थित रतनपुरबाट पक्राउ गरेको ‘नेकपा’ले जनाएको छ ।

लामाले स्थानीय तहको निर्वाचन बिथोलनका लागि विभिन्न गतिविधि गरेको आरोप प्रहरीको छ ।

यसैबीच, स्थानीय तहको निर्वाचन विथोल्ने गरेर अपरिचित समूहले २ नं.प्रदेशका विभिन्न स्थानमा बम विष्फोट गराएको छ । अपरिचित समूहले जनकपुरको सरस्वती उच्च मावि मतदान केन्द्रमा बम विष्फोट गराएको स्रोतले जनाएको छ ।

यसअघि सिरहाको लहान, गोलवजार, सर्लाहीको हरिवन, लालबन्दी, धुषाको धनुषाधाम नगरपालिका, सप्तरीको त्रियुगा डिष्टलरी लगायतका स्थानमा अपरिचित समूहले बम विष्फोट गराइ सकेको छ ।

सर्लाहीको लालबन्दीस्थित उर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठको क्रसर उद्योगमा पनि अपरिचित समूहले बम विष्फोट गराएको थियो ।

विष्फोटबाट कुनै क्षति भएको छैन । श्रेष्ठ माओवादी केन्द्रबाट राज्यमन्त्री बनेका हुन् । राज्यमन्त्री श्रेष्ठको क्रसर उद्योगमा अज्ञात समूहले दुई दिन अगाडि बम विष्फोट गराएको हो ।

प्रहरीले विभिन्न स्थानहरूमा भएका बम विष्फोट ‘नेकपा’ले गरेको हुन सक्ने आशंका गरेको छ । सोही अभियोगमा ‘नेकपा’का नेता तथा कार्यकर्तालाई पक्राउ गरेको दाबी गरिएको छ । ‘नेकपा’ले बम विष्फोटका विषयमा अहिलेसम्म मुख खोलेको छैन ।

Published : Monday, 2017 September 11, 1:50 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया