मनीष सुमनले राजीव पहरीलाई दिए कडा जवाफ

काठमाडौं । एमाले निकट युवा संघ नेपालका अध्यक्ष राजीव पहरीले राष्ट्रिय जनता पार्टी नेपालले वीरगञ्ज लगायत महत्वपूर्ण स्थानहरूमा एमाले विजयी हुने आफूसँग खुलासा गरेको दाबी गरेका छन् ।

राजपा नेपालका महासचिव मनीषकुमार सुमनसँग काठमाडौंस्थित विमानस्थलमा शनिबार भएको अनौपचारिक कुराकानीका क्रममा मधेस केन्द्रित दलहरू एमालेको विजयी यात्रालाई कसैले रोक्न नसक्नेमा आश्वस्त रहेको पहरीले बताएका हुन् । उनले सुमनलाई एमालेले भित्र्याउने इच्छा पनि जनाएका छन् ।

‘राजपा नेपालका महासचिव मनीषकुमार सुमनसँग चुनावी भलाकुसारी गर्दै समयको सदुपयोग गरियो’, युवा संघ नेपालका अध्यक्ष पहरीले फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘उहाँले बीरगञ्ज लगायतका महत्वपूर्ण नगर र गाउँपालिकामा एमाले बिजयी हुने र एमाले २ नं. प्रदेशमा पहिलो पार्टी बन्ने कुरा खुलस्त स्वीकार गर्नुभयो ।’

‘एमालेको सहि नीति र नेतृत्वको कारणले एमालेप्रतिको विश्वास अन्य पार्टीमा पनि बड्दै गएको छ’, अध्यक्ष पहरीले भनेका छन्, ‘मनीषजीलाई पनि एमालेमा छिट्टै स्वागत गर्न पाइयोस् ।’

उता, राजपा नेपालका महासचिव मनीषकुमार सुमनले युवा संघ नेपालका अध्यक्ष पहरीको फेसबुक स्ट्याटसको खण्डन गर्दै आफू कहिल्यै एमालेप्रति नरम नरहेको बताएका छन् ।

सुमनले पनि फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, ‘सेल्फी खिचाउने रहर बोकेका राजीवजीलाई हेक्का होस, मधेसी नेतालाई आमाचकारी गाली गर्ने बामदेव गौतमको एमाले, हठका कारण सप्तरीको मलेठमा ५ जना को हत्या गराउने एमाले, मधेसीलाई कालो, लटरम्म आँपबाट झरेका दुई–चार आँप, धोती जस्ता असभ्य अमर्यादित टिप्पणी गर्ने एमालेले अब मधेसमा लोप्पा मात्र पाउनेछ ।’

‘भेटघाटमा हुँदै नभएको गफलाई मनोगत रूपले फेसबुकमा प्रयोग नगरौं मित्र’, महासचिव सुमनले पहरीलाई चेतावनी दिँदै भनेका छन्, ‘मनीष सुमन मधेसवादी थियो, छ र रहनेछ । मधेस विरोधी एमालेले स्वागतको तयारी–सयारी नगरोस् ।’

Published : Sunday, 2017 September 10, 8:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया