गृह मन्त्रालय भूमिगत गिरोहले चलाएको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृह मन्त्रालयलाई भूमिगत गिरोहले चलाएको आरोप लगाउनु भएको छ ।

संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खतिवडाले गृह मन्त्रीको सल्लाहकारका नाममा पूर्वएआईजीलाई राखेर नेपाल प्रहरीमा समानान्तर संगठन चलाएको आरोप लगाउनुभयो । उहाँले गृह मन्त्रालयलाई गृहमन्त्रीको वरिपरी बसेर भूमिगत गिरोहले छापामार शैलीमा छापामार निर्णय गरेर मन्त्रालय चलाइरहेको बताउनुभयो ।

‘प्रहरी संगठन ध्वस्त भएको छ । सल्लाहकारका नाममा एसएसपीहरू खटाइदिनुप¥यो भनेर प्रहरीको हेडक्वाटरमा अर्कै कार्यालय खोलिएको छ’, उहाँले भन्नुभयो, ‘गृह मन्त्रालयको नीतिभित्र बसेर गर्नुपर्ने काम ध्वस्त भएको छ । पूर्वएआईजीलाई राखेर भूमिगत शैलीमा काम भइरहेको छ ।’

प्रहरीभित्र गृहमन्त्रीले आफू खुसी नाता पर्ने र भनसुनका आधारमा बढुवा गरेको कांग्रेस सांसद खतिवडाले बताउनुभयो ।

गृहमन्त्री शर्माले भदौ साउन २९ गतेको मिति राखेर ३१ जना प्रमुख जिल्ला अधिकारीहरूको सुरुवा गरेको भन्दै सांसद खतिवडाले भन्नुभयो, ‘नियमावलीअनुसार कर्मचारी २ सय ३३ दिन सरुवा भएर गएको ठाउँमा बस्ने अधिकार हुन्छ । गृह मन्त्रीले भदौ ७ गते एयरपोर्ट गएको सचिवलाई बोलाएर पुरानो मितिबाट कर्मचारी सुरुवाको निर्णय गराइयो ।’ मन्त्री शर्माका कारण गृह मन्त्रालयमा सरुवा आतंक रहेको बताउनुभयो ।

सात प्रदेशमा एआइजी राख्ने गृह मन्त्रालयको निर्णयले आफ्ना मान्छेलाई पदस्थापन गर्ने ठाउँ बनाएको उहाँको आरोप छ । ‘संघीयताको नाममा आफ्ना मान्छे राख्न सात प्रदेशमा एआईजी पठाइएको छ’, खतिवडाले भन्नुभयो, ‘प्रदेशमा गएका एआईजीहरूलाई जनप्रतिनिधिले कमाण्डमा राखेर काम गराउन सक्दैनन् ।’

सांसद खतिवडाले ८८ किलो सुनका असली मालिकलाई पक्राउ गरेर कारबाही चलाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुन पक्रिने तर असली मालिक पक्राउ नगर्ने । भरिया र ड्राइभरलाई मात्रै फसाउने । यसको जानकारी सदनलाई दिनुपर्छ ।’

Published : Saturday, 2017 September 9, 11:13 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया