रौतहटमा बम विष्फोट, एसपीको फोन, गोली हान्ने चेतावनी

रौतहट । रौतहट जिल्लाको गुजरा नगरपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बम विष्फोट गराएको छ ।

कटानी बजारको महिरा बुथ केन्द्र नजिक बिहीबार राति साढे नौ बजे ‘नेकपा’का नेता रकार्यकर्ताले बम विष्फोट गराएको ‘नेकपा’ रौतहट सेक्रेटरी विश्व बरालले जानकारी दिए । बम विष्फोटबाट कुनै क्षति भने भएको छैन ।

सेक्रेटरी बरालले आफूहरू स्थानीय तह निर्वाचनको बिरोध गर्दै आएको बताउँदै निर्वाचन विथोल्न विभिन्न कार्यक्रमहरू गरिरहेको दाबी बताए । उनले भने, ‘बम विष्फोटबाट कुनै मानवीय क्षति भएको छैन । हाम्रो उदेश्य निर्वाचन विथोल्ने मात्रै हो । जनतालाई दुःख दिने होइन ।’

यसअघि, बुधबार राति साढे नौ बजे पनि रौतहटको चन्द्रनिगाहपुर नगरपालिकामा बम विष्फोट भएको थियो । सो विष्फोटको पनि सेक्रेटरी बरालले जिम्मेवारी लिएका छन् ।

रौतहट जिल्लामा बम विष्फोट हुन थालेपछि जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी यज्ञनिधी पोखरेलले शुक्रबार बिहानै ‘नेकपा’ रौतहटका सेक्रेटरी बराललाई फोन गरेर बम नपड्काउन चेतावनी दिएको स्रोतले जनाएको छ ।

ज्वाफमा ‘नेकपा’का सेक्रेटरी बरालले स्थानीय तहको निर्वाचन विथोल्ने पार्टी नेतृत्वको निर्देशन अनुसार भइरहेको भन्दै आफूहरूको कार्यक्रम नरोकिने चेतावनी दिएका थिए ।

बम विष्फोट हुन थालेपछि प्रहरीले ‘नेकपा’का नेता तथा कार्यकर्ताहरूको घरमा खानतलासी सुरु गरेको छ । बिहीबार बिहान नेकपा रौतहटका सचिवालय सदस्य कुमार राईको घरमा प्रहरीले खानतलासी गरेको सेक्रेटरी बरालले बताए ।

‘कुमार राईका बाबु बीरबहादुर राईलाई प्रहरीले घरमा खानतलासीका क्रममा हातपात गरेको छ’, उनले भने, ‘कुमार राईलाई गोली हान्ने आदेश आएको छ भनेर बीरबहादुर राईलाई चेतावनी दिएर प्रहरी फर्किएको थियो ।’

Published : Friday, 2017 September 8, 10:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया