एमाले संघीयता विरोधी, माओवादी अराजक पार्टी : राजपा

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले माओवादी केन्द्रलाई लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टीको आरोप लगाएको छ ।

स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्न पार्टी मुख्यालय बबरमहलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रलाई शक्तिको बलमा सत्ताकब्जा गर्ने नीतिबाट यो पार्टी सञ्चालित भएको जनाइएको हो ।

‘मुलुकमा व्याप्त दण्डहीनता, भ्रष्टाचार, असुरक्षा, अशान्ति एवम् अराजकता मुख्य रुपले माओवादी केन्द्रकै कारण हाबी भएको, ऐतिहाँसिक मधेस आन्दोलनका क्रममा शहीद रमेश महतोका हत्यारा र ५२ जना मधेसी शहीद सपुतहरूको हत्याका लागि समेत मुख्य जिम्मेदार माओवादी केन्द्र नै हो ।’

राजपा नेपालले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएर पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध नरहेको आरोप लगाएको छ । राजपाले कांग्रेसलाई मधेस मैत्री पार्टी नभएको जनाएको छ ।

‘एमाले संघीयता र समावेशीकरणका लागि विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी हो’, घोषणा पत्रमा भनिएको छ, ‘यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गाहरूको वर्चस्व भेटिन्छ, जो प्रखर मधेस विरोध पनि छन् । यो पार्टी संघीयता विरोधी त हो नै, उत्पीडित बहिष्कृत समुदायको हकअधिकारका लागि रत्तिभर संवेदनशील नभएको रुपमा पनि देखिने गरेको छ ।’

पत्रकारहरूको जिज्ञासामा अध्यक्षमण्डलका अध्यक्ष राजेन्द्र महतोले मधेसी जनताको अभिमत लिएर अधिकारका लागि अगाडि बढ्ने बताए । ‘दुई चरणका स्थानीय तह निर्वाचन हामीले बहिष्कार गरेका छौँ’, उनले भने, ‘अब जनमतको कदर गरेर अगाडि बढ्ने निर्णय भएको छ ।’

उनले राजपा नेपालका नीति र कार्यक्रमसँग सहमत हुने सबै राजनीतिक दलहरूसँग तालमेल गरेर चुनावमा प्रतिस्पर्धा गर्न सकिने बताए ।

Published : Thursday, 2017 September 7, 4:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया