मन्त्रीद्वय देव र दहितलाई फोरम लोकतान्त्रिकले फिर्ता बोलाउँदै

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितलाई नेपाल फोरम लोकतान्त्रिक पार्टीले फिर्ता बोलाउने तयारी गरेको छ ।

मन्त्रीद्वय देव र दहितले पार्टी अध्यक्ष विजयकुमार गच्छदारसँग समेत मन्त्रालय चलाउने विषयमा कुनै सरसल्लाह नगर्ने गरेको स्रोतको भनाइ छ । देव र दाहितको कार्यशैलीबाट रिसाएका गच्छदारले दुबैलाई फिर्ता बोलाउन पार्टीभित्र दुई चरणको छलफल चलाइ सकेका छन् ।

पार्टीका अधिकांश नेताहरूले उनीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउनु पर्ने सुझाव दिएको स्रोतले जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण विभागको महानिर्देशक सञ्जीव गौतमलाई हटाउन गरेको भित्री खेल र मन्त्रालयमा राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै मन्त्री देवलाई हटाउने तयारी भएको उच्च स्रोतले जनाएको छ । गौतमलाई हटाउँदा सरकारलाई ठूलो नोक्सानी हुनेभन्दै मन्त्रालय र विभागमा विरोध भइरहेको छ ।

उता, राज्यलाई भार पर्ने गरी सीमित जग्गा दलालहरूसँगको मिलोमतोमा खेती गर्न अयोग्य जग्गाहरू प्लटिङमा रोक्का गरेको भन्दै भूमिसुधार तथा व्यवस्थामन्त्री दहितले निर्णय गरेको आरोप छ । कसैसँग परामर्श नै नगरेर मन्त्री दहितले गरेको निर्णयका कारण राज्यलाई अर्बौं रुपियाँ राजश्व घाटा लागेको छ । मातपोतमा जग्गाको कारोबार ह्वात्तै घटेपछि राजश्व संकलनमा समस्या भएको हो ।

‘दुबै जनामन्त्रीले पार्टीमा र प्रधानमन्त्री शेरबहादुर देउवासँग सरसल्लाह नगरी आफू खुसी राज्यलाई दीघकालीन असर पर्ने गरेर निर्णय गर्दै आउनु भएको छ’, उच्च स्रोतले भन्यो, ‘यसरी मनोमानी गरेका उनीहरूलाई फिर्ता बोलाउनुको बिकल्प रहेन । एक हप्ताभित्र दुबै जनालाई फोरम लोकतान्त्रिकले फिर्ता बोलाउँछ ।’

मन्त्रीद्वय देव र दहितले आफू खुसी कर्मचारी चलाउने, कर्मचारीसँग सुरुवा गरे वाफत पैसा माग गर्ने, विपक्षी दलहरूप्रति असंहिष्णुता देखाउने जस्ता आरोप लागेको छ ।

मन्त्रीद्वय देव र दहितको गृह जिल्लामा स्थानीय तहको निर्वाचनका बेला फोरम लोकतान्त्रिकले नराम्रोसँग पराजय भोग्नु परेको थियो । उनीहरूको जिल्लामा फोरम लोकतान्त्रिकले एउटा पनि स्थानीय तह जित्न सकेको छैन ।

Published : Sunday, 2017 September 24, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया