ओलीलाई पदबाट हटाइ दिने नेपाल–खनाल समूहको चेतावनी

काठमाडौं । खड्कप्रसाद ओलीले एमाले पार्टीलाई आफ्नो प्राइभेट लिमिटेड कम्पनी बनाउन लागेको खुलासा भएको छ ।

दुई दिनदेखि पार्टी मुख्यालय धुम्बाराहीमा चलिरहेको बैठकमा आफू निकटका नेताहरूमार्फत ओलीले यस्तो संकेत गरेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरूलाई भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई प्रस्ताव गरेका हुन् ।

फेरि प्रधानमन्त्री बन्ने सपना देखेका ओलीको यो योजनाको वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम भीम रावलसहितका नेताहरूले विरोध गरेका छन् ।

नेपाल समूहले एमाले पार्टीलाई ओलीले प्राइभेट कम्पनी बनाउन खोजेको भन्दै कडा आपत्ति जनाएको छ । यति मात्रै होइन ओलीले अबको संसदीय निर्वाचनमा आफूलाई प्रधानमन्त्री घोषणा गरेमा अध्यक्ष पदबाटै हटाइदिने चेतावनी नेपाल समूहले दिएको छ ।

संस्थापन पक्षका अधिकांशले अध्यक्षलाई नै प्रधानमन्त्रीको उम्मेदवार तोक्नुपर्नेमा जोड दिएपछि नेपाल पक्षीय कतिपय केन्द्रीय सदस्यले विगतको नजिरका आधारमा संसदीय दलको नेतामा भविष्यमा ‘भोटिङ’ हुन सक्ने चेतावनी दिए ।

‘हिजो हामीले अध्यक्ष नै संसदीय दलको नेता हुनुपर्ने कुरा उठाउँदा भोटिङ गरेर अध्यक्षलाई हटाइयो, हिजो त्यही कुरा अहिलेका अध्यक्षले लोकतान्त्रिकपद्धतिका रूपमा अभ्यास गरेकाले आज उहाँ मात्रै निर्विकल्प प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने स्थिति छैन,’ बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यले उठाएको सुझाब उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार बन्ने, तर भोलि दलको नेतामा उहाँले रोक्न सक्नुहुन्छ कि सक्नुहुन्न रु हारजितलाई स्वीकारेर प्रधानमन्त्रीको उम्मेदवार मान्नुहुन्छ कि हुन्न ?’

संस्थापन पक्षकै पोलिटब्युरो सदस्य सानु श्रेष्ठले अहिले नै मुख्यमन्त्री तोकेर जाँदा विपक्षीले गठबन्धन गरेर पार्टीको उम्मेदवारलाई प्रदेश सभामै हराउन सक्ने कुराप्रति सचेत बन्नुपर्नेमा जोड दिएका थिए ।

Published : Sunday, 2017 September 24, 11:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया