एनसेलभित्र अर्को ठूलो घोटाला, विदेशीलाई ठग्ने शतिशलालको रणनीति

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलमा नेपाली समूह र विदेशीबीच फेरी लफडा शुरु भएको छ । २० प्रतिशत र ८० प्रतिशत सेयरबारे ठूला करदाता कार्यालयले कर निर्धारण गरेपछि एनसेलको विदेशी व्यवस्थापन समूह रुष्ट बनेको छ ।

२० प्रतिशत सेयर स्वामित्वका मालिक शतिशलाल आचार्य हुन् भने ८० प्रतिशत सेयर मलेसियन कम्पनी एक्जिएटाको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

८० प्रतिशत सेयरमा करिब ६१ अर्ब रुपैयाँ कर निर्धारण भएकोमा साढे २१ अर्ब रुपैयाँ एनसेलले लाभकर शीर्षकमा रकम दाखिला गरिसकेको छ ।

बाँकी रकम आफूले नतिर्ने एक्जिएटाले अडान लिंदै आएको छ । स्रोतका अनुसार आचार्यले एनसेलमा नयाँ प्रवन्ध निर्देशक आउनु अघि नै सम्पूर्ण कर प्रक्रियाको विवाद समाधान गर्ने एक्जिएटालाई आश्वसन दिएका थिए ।

तर, आचार्यमाथि नै ६ अर्व कर निर्धारण भएपछि एकातिर उनी आफै असफल भएका छन् भने अर्कोतर्फ कर विवाद मिलाउन नसकेको भन्दै एनसेलमा आलोचना खेपिरहेका छन् ।

एनसेलमा दुई महिना अघि मात्र सिमोन पार्किन्सनलाई हटाएर नयाँ प्रवन्ध निर्देशकमा श्रीलंकाली मुलका मलेसियाली नागरिक सुरेन जे अमरासेकरा नियुक्ति भएका थिए । टेलियासोनेरासँग एक्जिएटाले एनसेलको ८० प्रतिशत सेयर खरिद गरे लगत्तै पार्किन्सन एनसेलको प्रवन्ध निर्देशक बनेका थिए ।

तर, उनको कार्यकालभरी कर विवादले नेपालमा ठूलो रुप लियो र उनी असफल भएरै विदेश फर्किए । अहिले प्रवन्ध निर्देशक रहेका अमरासेकराले आचार्यलाई नै कर विवाद समाधान गर्न निर्देशन दिएकोमा आचार्यले समाधान गर्न सकेका छैनन् ।

स्रोतका अनुसार आचार्यले कर विवाद समाधान गर्ने नाममा राज्यका असम्बन्धित व्यक्तिहरुलाई करोडौं खर्च गरी झन विवाद उचालेको एक्जिएटा समूहले आरोप लगाएको छ । आन्तरिक राजश्व विभागबाट चुडामणी शर्माको पलायनसँगै आचार्य कमजोर बन्दै गइरहेका छन् ।

किनकी शर्मालाई रिझाएकै भरमा आचार्यले कर विवाद समाधान गर्न खोजेका थिए । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई एनसेल प्रकरणमै कारबाही गरेपछि आचार्य तिल्मिलाएका हुन् ।

त्यसो त ८० प्रतिशत सेयर विक्रेता कम्पनी टेलियासोनेराले नै बाँकी लाभकर तिर्नुपर्ने र आफ्नो दायित्व नभएको भन्दै एक्जिएटाले अर्वौं कर नतिर्ने अडाल लिंदै आएको छ । जुन कुरा शतिशलालले विभिन्न एजेन्सीहरु मार्फत नेपाली मिडियामा क्याम्पेन गर्दै आइरहेका छन् ।

२० प्रतिशत सेयरका बिक्रेता निरज गोविन्द श्रेष्ठले ६८ प्रतिशतले न्यून मूल्यांकन गरी कर छलेको भन्दै ठूला करदाता कार्यालयले उनको नाममा सूचना समेत निकालेर कर निर्धारणको प्रक्रिया थालिसकेको छ ।

श्रेष्ठले नेपाली नागरिक भावना श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चरलाई २० प्रतिशत सेयर बिक्री गर्दा प्राप्त भएको लाभको अंक कम देखाई पुँजीगत लाभकर छल्ने योजना बनाएको कर कार्यालयले ठहर गरेको छ । भावना आचर्यकी श्रीमती हुन् । निरजले झन्डै ९ अर्ब रुपैयाँ लाभकर बुुझाउनुपर्नेमा २ अर्ब ८३ करोड रुपैयाँ मात्रै कर दाखिला गरेका थिए ।

यता, दुुई वर्षअघि एनसेलको ८० प्रतिशत सेयरको मूल्यांकन १ खर्ब ४४ अर्ब कायम गरी बिक्री गरिएको थियो । निरजको २० प्रतिशत सेयर भने ११ अर्ब ५७ करोड ६० लाख कायम गरिएको थियो ।

जुन ८० प्रतिशत सेयरको मूल्यांकनको तुलनामा ६८ प्रतिशत अर्थात् २४ अर्ब ६१ करोड ९६ लाख रुपैयाँले न्यून मूल्यांकन गरी ठूला करदाता कार्यालयमा झुटा विवरण पेस गरेर कर छली गरिएको अहिले आएर खुलेको छ । यसरी न्यून मूल्यांकन आचार्य र श्रेष्ठले गरी ६ अर्बभन्दा बढी लाभकर छली गर्न खोजेको अहिले आएर खुलेको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा एनसेलको ८० प्रतिशतको सेयरकर्ता टयाक्स हेवन मुलुक सेन्ट किट्स एन्ड नेभिसमा दर्ता रहेको रेनोल्ड होल्डिङको नाममा छ । यो सेल कम्पनी भएपनि यसको सम्पत्ति तथा दायित्वसमेत हुँदैन । त्यसकारण एनसेलले आफ्नो नाममा कुनै भौतिक सम्पत्ति जोडेको छैन ।

बिक्रेता टेलियासोनेरा र खरिदकर्ता एक्जिएटाले यो कम्पनी (रेनोल्ड) दर्ता भएकै मुलुकमा कारोबार गरी नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा सेयर हरेरफेर नगरी लाभकर छल्न खोजिरहेका छन् । जुन कुरा ठूला करदाता कार्यालयले गरेको कर निर्धारण प्रक्रियापछि खुलेको हो ।

Published : Thursday, 2017 September 21, 9:15 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया