‘जोनी जेन्टलम्यान’ले पाएन दर्शक, वितरकहरूको भागाभाग

काठमाडौं । ‘जोनी जेन्टलम्यान’ फिल्मलाई दर्शकले नरुचाएपछि निर्माताहरू जिल परेका छन् । सुनिल मानन्धरले वितरण गरेको यो फिल्मले खासै राम्रो व्यापार गर्न नसकेको फिल्म हलका सञ्चालकहरूले बताएका छन् । ‘जोनी जेन्टलम्यान’ले दर्शक तान्न नसकेपछि हलमा अरु फिल्मले दर्शक भरिएका छन् ।

‘जोनी जेन्टलम्यान’मा प्रेम, बदला, एक्सन, सस्पेन्स तथा गीतको मिश्रण रहेको छ । फिल्ममा सबै मसला हुँदा पनि दर्शकले ‘जोनी जेन्टलम्यान’लाई तिरस्कृत गरिदिएका छन् । फिल्मको कथा फितलो छ । प्रविधिको प्रयोगले फिल्मलाई थोरै भए पनि तानेको छ । ‘जोनी जेन्टलम्यान’लाई हेर्न दर्शकहरूले फिल्म सिनेम्याटोग्राफी र सम्पादनमा नै नराम्रोसँग चुकेको बताउँछन् । फिल्मले कसलाई फोकस गर्न खोजेको हो दर्शकले फिल्म सकिदासम्म पनि बुझ्न सक्दैनन् ।

‘जोनी जेन्टलम्यान’का छायाँकार रुपेश थापा र रामशरण उप्रेती हुन् । फिल्मका सम्पादक नवीन निरौलाले गरेका छन् । तर, दुबै पक्षले फिल्मलाई झुर बनाएका छन् । छायाँकार र सम्पादकले फिल्मलाई त झुर बनाएकै छन् तर, कथाले झन् ‘जोनी जेन्टलम्यान’लाई कुनै ठाउँमा राख्न सक्ने अवस्थामा पु-याएको छैन । जोन (पल शाह) र श्री (आँचल शर्मा) को प्रेमकथा फिल्मको मुख्य विषय हो । कथामा बदलाको विषयलाई उठाइएको छ । फिल्मका पात्रहरू नराम्रोसँग अलमलिएका छन् ।

बाटोमा देखिएकी केटी श्री (आँचल शर्मा)को प्रेममा जोनी (पल शाह) यसरी फस्छ कि उसले आफ्नो काम छोडिदिन्छ । श्रीसँगको एकदुई पटकको भेटमा जोनी नजिकिन्छ । जाने र श्रीको बुवासँग उसको विवाहको प्रस्ताव लगेर जाने मनस्थिति बनाउन पुग्छ ।

फिल्मको कथा महेश दवाडीले लेखेका छन् । कथा पनि दर्शकले बुझ्ने खालको छैन । फिल्म हेरेर बहिरिने दर्शकले फिल्मबाट कुनै पनि किसिमको मनोरञ्जन नपाएको प्रतिक्रिया बाहेक केही सुन्न पाइँदैन । फिल्मको पटकथा र संवाद पनि उत्तिकै फितलो छ ।

फिल्ममा राखिएका दृश्यका थुप्रै सर्टहरू हास्यास्पद छन् । ड्रामा पनि मिलेको छैन । एक्सिडेन्ट होस् वा कुटपिट, हत्याका दृश्यामा कुनै पनि तालमेल छैन । फिल्मको डायलग र दृश्यको पनि समय मिलेको छैन । विकास जोशी, रवि गिरी, सन्तोष श्रेष्ठको अभिनय भने राम्रो छ ।

‘जोनी जेन्टलम्यान’ कथा, पटकथा, निर्देशन, छायांकन र सम्पादनमा सुरुवाती देखिनै चुकेको फिल्मको दर्जामा परेको छ । फिल्मको आक्रामक प्रचार शैलीबाट दर्शकले जति अपेक्षा गरेका थिए, त्यो कुरा ‘जोनी जेन्टलम्यान’ हेरेपछि दिक्क भएर हलबाट बाहिरिने गरेका छन् ।

Published : Thursday, 2017 September 21, 8:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया