‘डन’ चक्रे थुनामा, मनाङ्गे हङकङतिर फरार

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख भएलगत्तै एसएसपी रविन्द्र धानुकको गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत पहिलो रोजाइमा परे गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङ ।

एसएसपी धानुकले परिसर प्रमुख भएको दुई दिन पछि गत शुक्रबार गुण्डा नाइके चक्रेलाई पक्राउ गरे । त्यसपछि साजन महर्जन र चक्रेका भाई तेजेन्द्र गुरुङ मंगलबार पक्राउ परेका छन् ।

सबैभन्दा रोचक कुरा त के छ भने चक्रे पक्राउ परेकै भोलिपल्ट चक्रेका दुस्मन एवम् समकक्षी गुण्डा नाइके राजिव गुरुङ उर्फ दिपक मनाङ्गे हङकङ पुगेका छन् ।

प्रहरी कारबाहिबाट जोगिन सेटिङ मिलाएरै मनाङ्गे हङकङ पुगेको र केही समय मकाउ बस्ने सोच बनाएको प्रहरी स्रोतले बताएको छ ।

मनाङ्गे आफ्नै छोराले खेलेको फिल्म डायरीको च्यारीटी शो का लागि भन्दै वहाना बनाएर हङकङ गएको भए पनि अपराध महाशाखा र परिसरका केही घुमुवा प्रहरी अधिकारीसँगको सेटिङमा नै उनी हङकङ पुगेको स्रोत बताउँछ ।

जुन कुरा अहिलेसम्म एसएसपी धानुकले पत्तो पाउन सकेका छैनन् । स्रोतका अनुसार एसएसपी धानुकले मनाङ्गेको समूह र गणेश लामाको समूहमाथि कारबाहीको तयारी थालेका छन् ।

त्यसो त तर्साउने र असुल्ने रणनीतिमा माहिर मानिने एसएसपी धानुकले मनाङ्गे समूह र लामा समूहका अवैध क्रियाकलापविरुद्ध कसरी एक्सनमा उत्रने हुन्, त्यो भने कही दिन पछि थाहा होला ।

दिपक मनाङ्गे, उमेश लामा, गणेश लामा, दावा लामा, विष्णु लामा, सगुन श्रेष्ठ, मिनकृष्ण महर्जन, राजु गोर्खाली, मिलन सेक्सीलगायतका गुण्डा नाइकेहरुमाथि परिसरले कडा निगरानी शुरु गरेको परिसरका एक प्रहरीले बताए ।

गृहमन्त्री जनार्दन शर्माले गुण्डा सफाय गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपछि परिसरले गुण्डाहरुमाथि पक्राउको अभियान चलाएको हो ।

उजुरी नपरे पनि नाम चलेका गुण्डालाई पक्राउ गरी हल्ला चलाउन प्रहरीले उक्त अभियान शुरु गरेको स्रोत बताउँछ । यस अघिका काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले गत वैशाख २६ गते पहिलो चरणको स्थानीय तह निर्वाचनको सुरक्षालाई मध्यनगर गर्ने भन्दै चक्रे र मनाङ्गे सहितका गुण्डाहरुलाई पक्राउ गरेका थिए ।

एसएसपी जोशीले परिसरमा रहँदा सूची बनाएर नाइकेदेखि टोले गुण्डा गरी ८० जना भन्दा बढीलाई पक्राउ गरेका थिए । केहीलाई त उनले रकम असुलेर छाडेको पनि चर्चा चलेको थियो । जसले गर्दा उनको गुण्डागर्दी विरुद्धको अभियान विवादमा परेको थियो ।

हाकिम फेरिएपछि गुण्डा पक्राउ गर्ने र देखाउनकै लागि भएपनि सार्वजनिक मुद्दा चलाउने प्रहरीको पहिलो काम हुन थालेको छ । तर, पक्राउ गरि छुटेपछि ति गुण्डा नाइकेहरुले पहिलेकै कामलाई निरन्तरता दिने हुँदा पक्राउ गर्नु र छाडिनुले कुनै अर्थ नराख्ने एक पूर्व डिआईजी बताउँछन् ।

एसएसपी विक्रमसिंह थापाको पालमा पनि दीपक मनाङ्गे, साजन महर्जनलगायत ८० जनाभन्दा बढी गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनीहरुलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएर २५ दिन थुनामा राखी छाडिएको थियो ।

मनाङ्गेलाई त एसएसपी थापाले पहिलो पटक संगठित अपराधमा मुद्दा चलाएका थिए । तर, अदालतमा सेटिङ मिलाई मनाङ्गे दुई महिनामै छुटेका थिए । मनाङ्गे पछिल्लो समय सुन तस्करीमा संलग्न रहेको प्रहरी स्रोतको दावी छ ।

Published : Thursday, 2017 August 31, 4:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया