संविधानबारे अन्तर्राष्ट्रियजगतलाई जानकारी गराएको हुँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानका विषयमा अन्तर्राष्ट्रियजगतलाई जानकारी गराएको विषयलाई अन्यथा रुपमा लिन नहुने बताउनु भएको छ ।

संसदको सोमबारको बैठकमा आफ्नो भारत भ्रमणबारेमा जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधानका विषयमा कसैसँग कुनै पनि प्रकारको सम्झौता नगरेको बताउनुभएको हो । ‘भ्रमणका बेला मैले संविधान संशोधनमा बोलेको छु’, उहाँले भन्नुभयो, ‘त्यस विषयलाई लिएर भएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘संविधान संशोधनका विषयमा कसैसँग सम्झौता गरेको छैन । र, हुन पनि सक्दैन’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘संविधान कार्यान्वयन हाम्रो प्रमुख एजेण्डा हुन् । अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनुलाई नाजाय भन्न मिल्दैन ।’

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानलाई छिमेकी मुलुकले हस्तक्षेप गर्ने भन्ने कुनै पनि कुरा सैह्य छैन ।’

आफ्नो भारत भ्रमणले दुई देशबीच विश्वासका साथै सम्बन्ध सुदृढ गराउन मद्दत पुगेको बताउनुभयो । ‘समृद्ध नेपाल हेर्न भारतीय पक्षले चाहेका छन्’, उहाँले भन्नुभयो, ‘नेपालमा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा भारतले सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको छ । संविधानको स्वागत गर्नुभएको छ ।’

भारतसँग सुनकोशी उच्च बाँध निर्माण गर्ने विषयमा सहमति भएको भन्दै छिटै निर्माण गर्ने सहमति भएको बताउनुभयो । देउवाले भारतले पञ्चेश्वर आयोजना छिटो सुरु गर्न तयार रहेको बताएको पनि जानकारी दिनुभयो ।

एमालेसहितका केही राजनीतिक दल र सामाजिक सञ्जालहरूमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका साथै विभिन्न विषयमा भारतमा दिएको अभिव्यक्तिलाई लिएर विरोध गरिरहेका बेला संसदलाई त्यसबारेमा स्पष्ट पार्नुभएको छ ।

Published : Monday, 2017 August 28, 12:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया