कांग्रेसले चाह्यो भने विद्यादेवीलाई सडकमा ल्याउँछ, हिम्मत भए चुनाव लड्नुस्ः गगन थापा

धनगढी । नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवास छाडेर काठमाडौंमा निर्वाचन लडेर देखाउन चुनौति दिएका छन् ।

सोमबार कम्युनिस्ट सरकारविरुद्ध कैलालीको धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै थापाले शीतल निवासमा बसेर षड्यन्त्र नगर्न चेतावनी दिए । उनले मर्यादा विपरित शीतल निवासमा बसेर केपी ओली र प्रचण्डको झगडा मिलाउन काम नगर्न सुझाव दिए ।

‘विद्यादेवी भण्डारीका पति स्व.मदन भण्डारीले भन्नुभएको एउटा कुरा म अहिले भन्न चाहन्छु’, थापाले भने, ‘मदन भण्डारीले राजालाई भन्नुभएको थियो । महाराज दरबारमा बसेर आँखा नझिम्काइ बक्यौस । दरबारबाट बाहिर आएर निर्वाचनमा लड्नुस् । राष्ट्रपति महोदय आँखा नझिम्काइ बक्यौस, हात नलम्काइ बक्स्यौस । हिम्मत छ भने काठमाडौंमा आएर चुनाव लड्नुस् ।’

कांग्रेसका युवा नेता थापाले कांग्रेसले चाह्यो भने राष्ट्रपतिलाई सडकमा ल्याउने हिम्मत राख्ने धम्की पनि दिएका छन् ।

कांग्रेसका युवा नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी महारानी होइन भनेका छन् । ‘विद्यादेवी भण्डारी महारानी होइन । हामीले बनाएको राष्ट्रपति हो’, उनले भने, ‘शीतल निवासमा बसेर ओली–प्रचण्डको झगडा मिलाउने होइन ।’

नउले कांग्रेसका नेताहरूलाई शीतल निवास, बालुवाटार र सिंहदरबार ताकेर नबस्ने सुझाव दिएका छन् । ‘कांग्रेसले शीतल निवास, बालुवाटार, सिंहदरबार हेर्ने होइन, त्यसलाई घेर्ने हो’, उनले भने, ‘कांग्रेस जनताको बीचमा जान्छ । बालुवाटारको दुलोमा लुकेर बसेको षड्यन्त्रकारीलाई निकाल्न सडकमा आयौँ । इतिहासको भ्रष्टचारी सरकारलाई अब छाडिदैन ।’

कांग्रेस नेता थापाले नेकपा भनेको लोभिपापीको मञ्च मात्रै भएको बताएका छन् । ‘केपी ओलीले कुनै बेला प्रचण्डसँग हात मिलाउँदैन रगत लाग्छ भन्नु हुन्थ्यो । त्यस्तो अवस्थाका ओली–प्रचण्ड रातारात मिलेका छन्’, नेता थापाले भनेका छन् ।

कम्युनिस्टहरू भ्रष्टाचारी र आफू धनी हुन मात्रै खोजेको आरोप लगाएका थापाले भने, ‘जग्गा कसको विष्णु पौडेलको । घर कसको प्रचण्डको भएको छ ।’ विगतमा कम्युनिस्टहरूले निःशुल्क जग्गा दिन्छौँ भनेर जनतालाई ढाँटेर घर र जग्गा विष्णु पौडेल र प्रचण्डले कब्जा गरेर बसेको उनले आरोप लगाए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री निरीह बनेर बसेको थापाले बताएका छन् । ‘नेकपाका मन्त्री र नेताहरू लेखराज भट्ट तथा भीम रावलले दिएको मास्क र सेनिटाइजर बाँडेर मुख्य मन्त्री बस्नुभएको छ’, थापाले भने, ‘आफ्नै सरकार छ । आफ्नै पार्टीको सरकार छ । मुख्यमन्त्री निरिह बनेर बस्नुभएको छ ।’

सडकमा राजावादीहरूको आन्दोलनको कांग्रेस नेता थापाले कडा आलोचना गरेका छन् । उनले भने, ‘हिजो मूर्ति बेचेर खाने मण्डलेहरूले हिन्दूधर्म ल्याउने होइनन् । खान पाइन्छ कि भनेर लागेका हुन् ।’

थापाले भने, ‘प्रधानमन्त्री केपी ओलीले होली वाइन खाएर संविधान विपरितका काम गर्दै आउनुभएको छ । हाम्रो धर्म संस्कृति बचाउने हामीले नै हो । ओलीले होलिवाइन खाएर बस्ने होइन । त्यसको हिसाव किताब खोजिनेछ ।’

कांग्रेस नेता थापाले केपी ओली सबैभन्दा अलोकप्रिय प्रधानमन्त्री भएको बताएका छन् । ‘सडक खालि भयो भने अबाञ्छित तत्वले कब्जा गर्न खोज्छ । सडक हाम्रो हो’, उनले भने, ‘कांग्रेसले बिकल्प दिनुपर्र्छ । बिकल्प दिने काम पनि हाम्रो हो’, उनले भने, ‘दुई वर्षपछि हामी आउँछौँ । पाँच वर्ष क्षति भएको छ । त्यसको हिसाब केपी ओलीसँग माग्नेछौँ ।

Published : Monday, 2020 December 14, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया