राष्ट्रपति र मुख्यमन्त्रीको जिल्ला भोजपुरमा कांग्रेसले असली शक्ति देखाउने, कार्यविभाजन र जिम्मेवारी तोकियो
भोजपुर । नेपाली कांग्रेस भोजपुरले अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्धको प्रदर्शनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
भोजपुर नगरपालिका नगर कार्यसमितिका सभापति डम्बर श्रेष्ठको सभापतित्वमा शनिबार बसेको बैठकले विभिन्न जिम्मेवारी र कार्यविभाजनहरू गर्दै मंसिर २९ गतेको प्रदर्शनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको हो । भोजपुर कांग्रेसले विरोध कार्यक्रमलाई भव्य बनाउने तयारी स्वरुप बैठक गरेको हो ।
नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँले जनताले दिएको जनमत विपरित नेकपाको सरकारले मुलुकमा अधिनायकवादको अभ्यास गर्न खोजेपछि कांग्रेसले ओली सरकारलाई त्यो बाटोमा जान नदिन प्रदर्शन गर्न लागेको बताए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरेको अभद्र व्यवहार र निरंकुश शैलीका विरुद्ध मंसिर २९ गते प्रदर्शन गर्न लागेको बताए ।

उपाध्यक्ष चापागाइँले भोजपुरका जनताले कम्युनिस्ट सरकारलाई विरोध प्रदर्शनबाट उचित जवाफ दिने बताए ।
नेपाली कांग्रेस भोजपुरका सभापति नन्दमणि राईले विरोध कार्यक्रममा सहभागी हुन भोजपुरवासीहरूलाई अपील गरेका छन् । ‘कम्युनिस्टहरू मात्तिन थालेका छन् । जनताले दिएको अभिमतको अपमान गर्न लागेका छन्’, उनले भने, ‘कम्युनिस्टहरूलाई सहि बाटोमा ल्याउनका लागि कांग्रेसले आन्दोलनमार्फत दवाव दिनुपर्छ ।’
नेपाली कांग्रेस भोजपुरका सचिव समेत रहेका भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले मंसिर २९ गतेको आन्दोलनको तयारीमा कुनै कसर बाँकी नराख्ने बताए । उनले हजारौँ कार्यकर्तालाई भोजपुरमा उतार्ने गरेर तयारी गरिएको बताएका छन् ।

बैठकमा भोजपुर कांग्रेसका सभापति नन्दमणि राई, नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चपागाइँ, भोजपुर कांग्रेसका सचिव एवम् भोजपुर नगरपालिकाका मेयर कैलाश आले, शुभेच्छुक संस्थाका प्रमुख, भ्रातृ संस्थाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
भोजपुर राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका नेता एवम् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला पनि हो । राष्ट्रपति भण्डारी र मुख्यमन्त्री राईलाई पनि कांग्रेसको शक्ति देखाउने गरेर भोजपुर कांग्रेसले तयारीहरू गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया