नेपाल–भारतबीच उर्जा सहकार्यबारे गम्भीर छलफल, अरुण तेस्रोको समीक्षा
काठमाडौं । नेपाल र भारतका उर्जा सचिवहरूको उर्जा क्षेत्रमा सहकार्य विषयक नेपाल–भारत संयुक्त सञ्चालक समितिको आठौं बैठक बसेको छ ।
शुक्रबार भिडियो कन्फरेन्समार्फत बसेको बैठकमा भारत सरकारका उर्जा सचिव सञ्जीवनन्दन सहाय र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा तथा विभिन्न मन्त्रालय, भारतीय राजदूतावास, एनएचपीसी लिमिटेड, एनटीपीसी लिमिटेड लगायतका भारत सरकारअन्तर्गतको सार्वजनिक निकायका अधिकारीसहितको १७ सदस्यीय टोलीको सहभागिता रहेको थियो ।
नेपाली टोलीको नेतृत्व नेपालका उर्जा सचिव दिनेशकुमार घिमिरेले गरेका थिए । बैठकको तयारी स्वरुप बिहीबार सह–सचिवस्तरीय नेपाल–भारत संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको थियो ।
नेपाल–भारत संयुक्त सञ्चालक समिति दुई देशका सरकारबीच उर्जाको क्षेत्रमा भएका विभिन्न प्रयासलाई विस्तार एवम् समन्वय गर्ने सर्वोच्च द्विपक्षीय संयन्त्र हो ।
यस क्षेत्रमा भएका द्विपक्षीय पहल तथा प्रयासका प्रगतिबारे समीक्षा गरेको छ । दुवै पक्षबीच अन्य विषय लगायत नेपाली उर्जा उत्पादकको भारतीय बजारमा पहुँच विस्तार गर्न तर्जुमा भएका उपयुक्त नियमावली तथा निर्देशिका, इनर्जी बैंकिङ्गको विकास, अन्तरदेशीय प्रसारण लाइनको विकासबारे छलफल हुनुका साथै एसजेभिएन लिमिटेडद्वारा प्रर्वद्धित ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको प्रगतिको समीक्षा गरी उक्त परियोजनाको कार्यान्वयन द्रूत रुपमा अघि बढाउने सहमति भएको छ ।
यस क्षेत्रको विकासका लागि दुवै देशका सरकारले निकटमा रहेर समन्वय गरिरहेका छन् । फलस्वरुप गएको पाँच वर्षमा यस क्षेत्रमा उल्लेख्य प्रगति भएको छ ।
दक्षिण एसियाको पहिलो ४०० केभी क्षमताको अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ ।
४०० केभी क्षमताको गोरखपुर–बुटवल प्रसारण लाइनको वित्तीय मोडालिटीबारे पनि सहमति भइसकेको छ । अब चाँडै यस परियोजनाको निर्माण शुरु हुनेछ ।
९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण उल्लेख्य रुपमा अघि बढेको छ ।
दुई देशबीच विद्युतको अन्तरदेशीय व्यापारका लागि दुवै पक्षले नियमन मोडालिटीलाई छिट्टै अन्तिम रुप दिनेछन् ।
दुवै पक्षले दुई देशबीच उर्जाको क्षेत्रमा भएका सहकार्यलाई थप मजबुत बनाउने लगायत एकीकृत ग्रीडको विकास एवम् विस्तार, आवश्यकता अनुसार थप अन्तरदेशीय विद्युत प्रसारण लाइनको निर्माण, नेपालको जलविद्युत तथा सौर्य उर्जा परियोजनामा लगानी लगायतका प्रतिबद्धता दाहोर्याए ।
बैठकमा भएको विस्तृत एवम् सकारात्मक छलफलले भारत र नेपाल बीचको उर्जा सहकार्यलाई विस्तार गर्न थप सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया