कांग्रेसको काठमाडौंको आन्दोलनमा सबैको नजर, यसरी हुँदै छ तयारी

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्धको प्रदर्शनलाई भव्य र सशक्त बनाउने निर्णय गरेको छ ।

मंसिर २९ गते हुने सरकार विरोधी प्रदर्शनमा सहभागी हुन काठमाडौं कांग्रेसले अपील गरेको छ । काठमाडौंमा दिउँसो १ बजे जम्मा भएर विरोध प्रदर्शन शुरु हुनेछ ।

कोरोनाको नाममा भएको भ्रष्टचार, जनजीविकाका सवाल तथा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहारविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्न लागेको छ ।

विरोध प्रदर्शनमा अनिवार्य रुपमा उपस्थित हुन सबै नेता कार्यकर्तालाई नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले निर्णय गरेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट कांग्रेसको जुलुस निस्कनेछ । विभिनन स्थानको परिक्रमापछि जुलुस रत्नपार्कको शान्तिवाटिका अगाडि आएर विरोध सभामा परिणत हुने काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिएका छन् ।

शहीदगेट, बसन्तपुर, ललितपुर, पुतलीसडक, भृकृटीमण्डप, बागबजार, कमलादी लगायतका स्थान हुँदै जुलुसहरू शान्तिबाटीकामा मिसिनेछन् ।

Published : Thursday, 2020 December 10, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया