कांग्रेसले नेकपाका वडाध्यक्षको अध्यक्ष पद खाइदियो, ऐरले राजीनामा दिए

आलिताल । डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका– १ का वडाध्यक्ष पूर्णबहादुर ऐरले राजीनामा दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष ऐरले सोमबार बसेको कार्यपालिका बैठकमा आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले असहयोग गरेपछि वडाध्यक्ष पदबाट राजीनामा दिएको स्थानीय सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिएका छन् ।

गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङले वडाध्यक्ष ऐरले राजीनामा दिएको जानकारी आफूसमक्ष आएको बताएका छन् । आफू बाहिर भएकाले राजीनामा पत्र हेर्न नपाएको गुरुङले स्थानीय सञ्चारकर्मीहरूलाई बताएका छन् ।

उनले कांग्रेसका जनप्रतिनिधिहरूले असहयोग गरेपछि राजीनामा दिएको जनाएका छन् । उनले आफूलाई काम गर्ने सहज वातावरण नभएकाले राजीनामा दिनुपरेको बताएका छन् ।

वडाध्यक्ष ऐरले राजीनामा स्वीकृत नभएको बताएका छन् । उनले आफूलाई काम गर्न सहयोग भयो भने मात्रै काममा फर्किने नत्र नफर्किने बताएका छन् ।

वडाध्यक्ष ऐरले वडामा राम्रो काम गर्न नसकेपछि आलोचना र विरोध भएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बताएका छन् । उनीहरूले वडाध्यक्षको राम्रो काममा साथ दिएपनि गलत काममा साथ दिन नसकिने बताएका छन् ।

वडा नं. १ मा वडाध्यक्षमा नेकपाका ऐर निर्वाचित भएका थिए । वडा सदस्यहरू सबै नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् । जानकी देवी दमाई, सुरमतीदेवी बोहरा, गोपालबहादुर देउवा, रामबहादुर खडका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

Published : Tuesday, 2020 December 1, 3:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया