भारतीय विदेश सचिवले दुई दिन नेपालमा के–के गरे ?

काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्वन श्रृंगलाले नेपालको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फिर्ता भएका छन् । सचिव श्रृंगलाले नेपालबाट सकारात्मक सन्देश लिएर भारत फिर्ता भएको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणको पहिलो दिन बिहीबार विदेश सचिव श्रृंगलाले नेपालका परराष्ट्र सचिव भरतराज पौड्याललाई भेटेका छन् । सोही क्रममा विदेश सचिव श्रृंगलाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री खड्गप्रसाद ओली तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताहरू सौहार्दपूर्ण र सकरात्मक वातावरणमा सम्पन्न भएको भारतीय राजदूतावाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा दुई परराष्ट्र सचिवले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षका बारेमा छलफल एवम् समीक्षा भएको छ । उनीहरूले महामारीले निम्त्याएको विषम परिस्थितिको बाबजुद सहकार्यको विविध क्षेत्रमा भएका उल्लेखनीय प्रगतिमा सन्तुष्टि व्यक्त गरेका छन् ।

यस अवधिमा सीमामा व्यापार र वाणिज्यको सहज र निर्बाध गतिविधि तथा विकास परियोजनाहरूको सक्रिय कार्यान्वयन सुनिश्चित गर्न भारत सरकारले खेलेको भूमिकाको नेपाली पक्षले सराहना गरेका छन् ।

दुवै परराष्ट्र सचिवले सीमा सम्बन्धी विषयमा छलफल गर्नुका साथै बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरू सम्पन्न गर्नेबारे आफ्ना विचारहरू साटासाट गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै देशका परराष्ट्र सचिवले उच्चस्तरीय द्विपक्षीय सम्बन्धमा नयाँ गतिलाई कायम राख्न र दुवै देशहरूबीच परम्परागत रूपमा घनिष्ठ, मैत्रीपूर्ण र बहुपक्षीय साझेदारीलाई अझ मजबुत बनाउन सहमति जनाएका छन् ।

राष्ट्रपति भण्डारीसँगको शिष्टाचार भेटवार्तामा विदेश सचिव श्रृंगलाले भारतका राष्ट्रपतिको सन्देश सुनाएका छन् । उनीहरूले दुई देशबीचको घनिष्ट सम्बन्ध र यसलाई अझ मजबुत बनाउने तरिकाहरूबारे छलफल गरेका छन् ।

नेपालका प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटका क्रममा विदेश सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका छन् । उनले परराष्ट्रमन्त्री ज्ञवाली र समकक्षी भरतराज पौड्यालसँग भएको फलदायी भेटवार्ताबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

विदेश सचिव श्रृंगलाले द्विपक्षीय सम्पर्कलाई गति प्रदान गर्न, जनता जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, सारभूत एवम् रणनैतिक द्विपक्षीय पहल र आपसी हितका विषयहरूको ठोस प्रगतिका लागि दुवै पक्षबीच सहमति आवश्यक रहेको कुरामा जोड दिएका छन् ।

परराष्ट्रमन्त्रीसँगको भेटका क्रममा दुवै पक्षबीच द्विपक्षीय सम्बन्ध सुदृढीकरण र द्विपक्षीय आदानप्रदान र सहकार्यको दिशालाई अघि बढाउनेबारे विचार आदानप्रदान भएको छ ।

विदेश सचिव श्रृंगलाले कोभिड–१९ को चुनौतीलाई सामना गर्न भारतले गरेको उल्लेख्य प्रगतिबारे परराष्ट्रमन्त्रीलाई जानकारी गराएका छन् ।

विदेश सचिव श्रृंगलाले माननीय परराष्ट्रमन्त्री ज्ञवालीलाई विदेशमन्त्री डा. एस जयशंकरले संयुक्त आयोगको अर्को बैठकमा सहभागी हुन पठाएको निमन्त्रणा पनि सुनाएका छन् ।

बैठकपछिको एउटा छुट्टै समारोहमा भारतीय विदेश सचिव श्रृंगलाले ज्ञवालीलाई कोरोना संक्रमित बिरामीको उपचारका लागि २००० थान रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेका छन् ।

भारत सरकारले गत अप्रिल महिनादेखि नै कोभिड—१९ विरुद्व लड्न आवश्यक औषधि, उपकरण तथा क्षमता विकासमा नेपाललाई सहयोग गरेको छ । अहिलेको सहयोग पनि त्यसकै निरन्तरता हो । कोभिड—१९ सम्बन्धी हर सहयोग पु¥याउन नेपाललाई भारतको निरन्तर साथ रहने कुराको आश्वासन पनि उनले दिएका छन् ।

Published : Friday, 2020 November 27, 10:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया