धादिङका पहिलाे कानून व्यवसायी स्व.श्रेष्ठलाई न्यायाधीश र अधिवक्ताहरूले सम्झिए
धादिङ । नेपाल बार एसोसिएसन धादिङले वरिष्ठ अधिवक्ता एवम् धादिङका पहिलो कानून व्यवसायी स्व.गोविन्दबहादुर श्रेष्ठप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।
धादिङस्थित बार एसोसिएसनको सभाहलमा सोमबार आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा स्व.श्रेष्ठलाई श्रद्धाञ्जलि दिइएको हो । स्व.श्रेष्ठको १३औँ दिनको पूण्यतिथिका अवसरमा बार एसोसिएसन धादिङले आफ्ना संस्थापक अध्यक्षको सम्झनामा श्रद्धाञ्जलि कार्यक्रम राखेको थियो ।
स्व.श्रेष्ठ धादिङ जिल्लाको पहिलो कानून व्यवासयी समेत हुन् । उनले नै नेपाल बार एसोसिएसन धादिङको स्थापना गरेका थिए ।
श्रेष्ठको उपचारका क्रममा कात्तिक ५ गते ९२ वर्षको उमेरमा राजधानीमा निधन भएको थियो । उनको जन्म विक्रम संवत १९९५–०६–०७ गते भएको थियो ।
स्व.श्रेष्ठका बुबा डम्बरबहादुर श्रेष्ठ न्याय क्षेत्रमा थिए । बुबाकै सहयोग र निर्देशनमा स्व.श्रेष्ठले कानून क्षेत्रमा काम गरेका थिए ।
उनका बुबा डम्बरबहादुर श्रेष्ठ बिक्रम संवत १९९० देखि १९९८ सम्म धादिङ्ग जिल्ला अदालतको प्रमुख भएर समेत कार्य गरेका थिए ।
कार्यक्रममा स्व.श्रेष्ठका पुत्रद्वय रमेशकुमार श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई पनि बोलाइएको थियो ।
जिल्ला अदालत धादिङका न्यायाधीशद्वय देवेन्द्र पौडेल र आत्मदेव जोशीले स्व.श्रेष्ठले न्यायालयसँग जोडिएर गरेका कार्यहरूको स्मरण गरे ।
न्यायाधीश पौडेलले स्व.श्रेष्ठले कानून र न्याय क्षेत्रमा पुर्याएको योगदानको स्मरण गरेका छन् ।
राजविराजमा छँदा गोबिन्दबहादुर श्रेष्ठका दाजु कानूनका विद्वान लेखक तत्कालीन राजविराजका मुख्य न्यायाधीश ज्ञाईन्द्रबहादुर श्रेष्ठसंग कार्य गर्ने अनुभव भएको पौडेलले बताए ।
न्यायालयले असल कानूनी साथी गुमाएको भन्दै उनले संसारमा राम्रा व्यक्तिलाई भगवानले चाँडै बैकुण्ठबासमा पुर्याउने गरेकोमा खेंद प्रकट गरे ।
श्रद्धाञ्जलि कार्यक्रममा अधिवक्ता स्व.श्रेष्ठले धादिङ जिल्ला अदालत र नेपाल बार एसोसिएसनमा पुर्याएको योगदानको सबैले चर्चा गरेका थिए ।
श्रद्धाञ्जलि सभामा नेपाल बार एसोसिएसन धादिङका अध्यक्ष विश्वराज अधिकारीले स्व.श्रेष्ठलाई कानून व्यवसायीहरूले सधै स्मरण गरिरहने बताए ।
अध्यक्ष अधिकारीले आफू कक्षा ४ मा पढ्दादेखि नै अधिवक्ता स्व.गोविन्दबहादुर श्रेष्ठलाई चिनेको बताए । धादिङमा पहिलो कानून ब्यवसायीको रुपमा स्व.श्रेष्ठलाई आफूले चिनेको भन्दै अधिकारीले भने, ‘स्व.गोविन्दबहादुर श्रेष्ठको निधन भएपनि सधैँ हामीबीच रहनुहुनेछ । उहाँको स्वभावले सबैलाई प्रभावित बनाएको थियो ।’
धादिङमा विक्रम संवत २०४१–४२ साल ताका कहिँ कतै केही घटना भयो भने पहिला अधिवक्ता गोविन्दबहादुर श्रेष्ठसँग भेटेर कानूनी परामर्श लिने चलन रहेको समेत अध्यक्ष अधिकारीले स्मरण गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख खेमराज पौंडेलले स्व.श्रेष्ठबाट सधैँ न्यायालयलाई सकारात्मक सहयोग भएको स्मरण गरे । उनले स्व.श्रेष्ठले न्यायालय र कानूनको क्षेत्रमा पुर्याएको योगदानको कदर हुनुपर्ने बताए ।
जिल्ला अदालत धादिङका श्रेस्तेदार दिनेश आचार्य, सह–न्यायाधिवक्ताद्वय गोविन्द हुमागाइँ र भावना खतिवडा, धादिङ्ग जिल्ला बारका पूर्व अध्यक्षहरू विष्णुकुमार श्रेष्ठ, अधिवक्ता गोविन्दराज अधिकारी, अधिवक्ता विश्वराज अधिकारी, अधिवक्ता टंककुमार श्रेष्ठ, अधिवक्ता रामकृष्ण अधिकारी, अधिवक्ता खिल गिरी, अधिवक्ता रामचन्द्र भट्ट, अधिवक्ता राधिका सापकोटा, अधिवक्ता विनोदमान श्रेष्ठको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जलि सभा कार्यक्रममा स्व.श्रेष्ठका कान्छा छोरा तथा युवा ब्यवसायी, समाजसेवी प्रकाशकुमार श्रेष्ठले बारको कल्याणकारी कोषमा पचास हजार रुपियाँ हस्तान्तरण गरेका थिए ।
धादिङ्ग बार एसोसियसनको फर्निचर तथा पुस्तकालय कक्ष ब्यवस्थापान गर्नका लागि आर्थिक सहयोग स्वरुप चेक प्रदान गरिएको थियो ।
आगामी दिनमा धादिङ्ग बार र कानून ब्यवसायीहरूको हरेक कार्यलाई सघाउने तथा नीलकण्ठ क्याम्पसमा अध्ययनरत जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका विद्यार्थी तथा कानून विषय अध्ययन गर्ने २ जना विद्यार्थीलाई पठान–पाठनको निम्ति १० लाखको अक्षयकोष खडा गरिने कान्छा छोरा श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली, उपेन्द्रमान प्रधानको पनि उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया