कांग्रेसका खतिवडाको प्रश्न, ‘मन्त्री बनाउन सबैले भाग लिने, दोषभरि एउटालाई मात्रै दिने ?’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सभापति शेरबहादुर देउवाका कारण मात्रै पार्टीमा समस्या नभएको टिप्पणी गरेका छन् ।
सोमबार आयोजित भर्चुअल बैठकमा सम्बोधन गर्दै पार्टीमा समस्या आउनुमा खतिवडाले आफ्नो पनि उत्तिकै जिम्मेवारी रहेको बताए । सभापति देउवालाई मात्रै गाली गर्ने कार्यले नेतृत्वमा बसेर जिम्मेवारीबाट पन्छिने जस्तो हुने उनको भनाइ थियो ।
‘सबैले पार्टी सभापति शेरबहादुर दाईलाई मात्रै गाली गर्छौं । नेतृत्वमा भएकोले उहाँको अलिक धेरै जिम्मेवारी होला । तर, पार्टीमा समस्या आउनुमा रामचन्द्र दाई, कृष्णप्रसाद सिटौला दाई सबै दाईहरूको उत्तिकै जिम्मेवारी छ’, खतिवडाले भनेका छन्, ‘जिम्मेवारीअनुसार मैले पनि काम गर्न सकेन हुँला । त्यसको जिम्मेवारी म पनि लिन्छु ।’
‘शुरुदेखि भागबण्डा गर्दै आउने । आफूलाई फाइदा हुँदासम्म नबोल्ने’, युवा नेता खतिवडाले भने, ‘आफूलाई अलिकति बेफाइदा हुनेवित्तिकै असहयोग गर्ने परम्परा हामीले बसाल्यौँ । यो कार्य पार्टीका लागि हानिकारक भयो ।’
‘रामचन्द्र दाई, कृष्ण दाईहरूले मन्त्री बनाउन भाग लिनुभएकै हो । मन्त्रीहरू पनि बनाउनुभयो’, खतिवडाले भने, ‘नेविसंघ र तरुण दलमा पनि भाग लिनुभयो । विभागमा आएर उहाँहरूलाई के भयो ? कि शुरुदेखि नै भाग लिनु हुँदैन थियो । भाग लिएपछि असहयोग गर्नु हुँदैन थियो ।’
कांग्रेस नेता खतिवडाले एकले अर्कोलाई आरोप प्रत्यारोपभन्दा पनि मैले कांग्रेसका लागि के गरेँ भनेर छातीमा हात राखेर संगठन गर्नेतिर लाग्नुपर्ने बताएका छन् ।
उनले कुनै पनि नेतालाई गाली गर्नुभन्दा पनि सबै नेताहरू मिलेर सहमति, सहकार्य र मेलमिलापबाट जानुपर्ने बताए ।
कोरोनाभाइरसको महामारीका बेला १४औँ महाधिवेशन हुन्छ कि हुँदैन त्यसमा पनि इमान्दार भएर ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘महाधिवेशन गर्नुपर्छ’, उनले भने, ‘फागुन महिनामा हुन्छ कि हुँदैन ? त्यसमा पनि विचार गरौँ । महाधिवेशन शीर्ष नेताहरूलाई भन्दा पनि मलाई चाहिएको छ । गाउँका कार्यकर्ताहरूलाई चाहिएको छ । व्यवहारिक कुरा पनि गर्न सक्नुपर्छ ।’
कोरोनाका बेला कम्युनिस्ट सरकारले भ्रष्टाचार, बेथितिलाई चरम अवस्थामा पुर्याएको बताएका कांग्रेस नेता खतिवडाले भने, ‘अहिले हामी कांग्रेसका नेताहरूले सरकारको भ्रष्टाचारका बारेमा जनतालाई भन्ने हो । जनता भोकै मरेका छन् उनीहरूको पेट भर्ने हो । जनता कोरोनाबाट आक्रान्त छन् । उनीहरूको जीवन कसरी बचाउने हो त्यसतर्फ ध्यान दिने हो ।’
पहिला समस्यासँग जुध्नका लागि कांग्रेसको शीर्ष नेतृत्व मिल्नुपर्ने खतिवडाले बताएका छन् । क्षणिक लाभ र सस्तो लोकप्रियताका लागि नेतालाई गाली गर्दै जाने हो भने समस्या कहिल्यै पनि समाधान नहुने उनको भनाइ थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया