पुजारी प्रकरणमा हिन्दु महासंघद्वारा गृहमन्त्रीको राजीनामा माग

जनकपुरधाम । विश्व हिन्दू महासंघले पुजारी स्व.श्रीराम साहको ज्यान लिएको विषयामा प्रहरीले तयार पारेको प्रतिवेदनमा असन्तुष्टि जनाएको छ ।

महासंघका समर्थकले दोषीलाई हदैसम्मको कारबाहीको माग राखेर आन्दोलन गरेका छन् ।

रौतहट जिल्लाको माधवनारायण नगरपालिका–२ खेसरहियास्थित हनुमान मन्दिरका पुजारीको भदौ ३ गते राति गोली हानेर ज्यान लिइएको थियो । सो घटनाका दोषीलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ ।

झुठ्ठो प्रतिवेदन बनाएको भन्दै सो घटनाप्रति गृहमन्त्रीले जवाफ दिनुपर्ने भनेर महासंघका समर्थकले नाराबाजी गरेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले प्रहरीको प्रतिवेदन खारेज गर, घटनाको छानबिन गर्न विशेष समिति बनाउ, साधु–सन्तमाथीको हमला बन्द गर, हिन्दु समाज एक हौँ, गृहमन्त्री राजीनामा देउ, हिन्दु बिरोधी कम्युनिस्ट सरकार मुर्दावाद जस्ता सरकार विरोधी नाराबाजी गरेका थिए ।

महासंघले प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पूर्ण साधुसन्त समाजमाथिको पनि प्रहार रहेको जनाएको थियो ।

आफ्नो निजी सम्पत्ति बेचेर मन्दिर बनाएका श्रीराम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरूको भनाइ छ ।

प्रदर्शनकारीले पुजारीको ज्यान लिनेहरूलाई तत्काल सार्वजनिक गर्न पनि माग गरेका छन् ।

Published : Sunday, 2020 September 13, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया