कास्की कांग्रेसका होनहोर नेताको निधन, गोरखामा कांग्रेसका खम्बा ढले

काठमाडौं । नेपाली कांग्रेसले कास्की कांग्रेसका नेता भोजबहादुर गुरुङ ‘सिकन्दर’को निधन भएकोमा दुःख व्यक्त गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गरेर गुरुङको निधनप्रति पार्टी गम्भीर भएको जनाएका हुन् ।

नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिका पूर्वसदस्य समेत रहेका गुरुङ प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेका थिए ।

गुरुङको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा आइतबार निधन भएको विज्ञप्तिमा उल्लेख छ ।

स्व.गुरुङले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

‘भोजबहादुर गुरुङको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ’, शोक विज्ञप्तिमा कांग्रेसले भनेको छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस समवेदना प्रकट गर्दछ ।’

यसैबीच, गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–७ निवासी नेपाली कांग्रेसका अग्रज व्यक्तित्व ९२ वर्षीय हरिप्रसाद पाण्डेको भदौ २५ गते हृदयघातबाट निधन भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपाले दुःख व्यक्त गरेको छ ।

‘समाजसेवीका रुपमा समेत परिचित स्वर्गीय पाण्डेले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, शोक विज्ञप्तिमा भनिएको छ ।

‘उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, शोक विज्ञप्तिमा भनिएको छ, ‘उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ ।’

Published : Sunday, 2020 September 13, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया