फाइदामा ओली, लल्याकलुलुक बने दाहाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादलाई अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मिलाउन सफल भएका छन् ।

असन्तुष्ट समूहको नेतृत्व गरेका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले अधिकांश अडान छाडेर लचक बनेपछि ओली आफ्नो रणनीतिमा सफल भएका हुन् । ओली र दाहालबीच बुधबार बालुवाटारमा भएको वार्तामा कुरा मिलेको हो ।

प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री हुनेछन् । दाहाललाई पार्टी सञ्चालनका लागि आंशिक जिम्मेवारी दिइनेछ ।

भदौ २६ गते बस्न लागेको स्थायी समितिको बैठकका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र दोस्रो वरीयताका अध्यक्ष दाहालले तयार पारेको प्रस्तावमा ओलीलाई फाइदा भएको एक नेताले जनाएका छन् ।

दाहाललाई कार्यकारी अधिकारसहित समग्र पार्टी कामको जिम्मेवारी दिने भनिएको छ । प्रस्तावमा अध्यक्षद्वयको कार्यविभाजन तथा कार्यविधि स्पष्ट गर्ने शीर्षकमा यसलाई अझै प्रष्ट पार्न खोजिएको छ ।

पार्टी विधान बमोजिम अध्यक्षद्वयको सहमति र महासचिवसँगको परामर्शमा सचिवालय, स्थायी समिति, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका कार्यसूची तयारी गरी सम्बन्धित कमिटीको बैठकमा पेश गर्ने र तदअनुरुप बैठक सञ्चालन गर्ने समेत प्रस्तावमा भनिएको छ ।

सामूहिक नेतृत्व तथा व्यक्तिगत जिम्मेवारीको संस्थागत प्रणालीलाई अवलम्बन गर्ने र सवल गराउने समेत भनिएको छ । अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउ समन्वय गर्ने प्रस्तावमा भनिएको छ ।

Published : Wednesday, 2020 September 9, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया