अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहारविरुद्ध कमल चलाउनुस्ः देउवा
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति पत्रकारका लागि सुरक्षा सामग्री ब्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
कांग्रेस निकटको नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा मंगलबार सम्बोधन गर्दै देउवाले भने, ‘कोरोनाको जोखिमका बेला पत्रकारिताको काम सजिलो छैन, अतः देशभरका पत्रकारका लागि स्वास्थ सुरक्षा सामग्री उपलब्ध गराउनु सरकारको कर्तव्य थियो ।’ उनले पत्रकारको सुरक्षामा सरकार गम्भीर नभएको बताए ।
वीरगञ्ज, उदयपुर लगायतका ठाउँमा पत्रकारलाई कोरोना संक्रमण देखिएको भन्दै देउवाले चिन्ता जनाए ।
‘देशभरका पत्रकारको निःशुल्क परीक्षण गरेर पत्रकारिता क्षेत्रलाई सुरक्षित गर्न म सरकार समक्ष माग गर्नेछु’, देउवाले भने ।
‘पत्रकार र मिडिया हाउसलाई राहत योजना ल्याउ । श्रमजीवी पत्रकार योबीचमा कयौं बेरोजगार भएका छन्’, उनले भने, ‘बिज्ञापन ब्यवसायमा असर पर्दा मिडिया हाउसहरू संकटमा परेका छन् ।’
‘देशभरिमा कयौं दैनिक र साप्ताहिक पत्रिका बन्द भएका छन्’, उनले भने, ‘पत्रकारिता क्षेत्रले भोगेको यो चुनौती सामना गर्न ब्यवस्थित राहत प्याकेज ल्याउन नेपाली कांग्रेसले यस अघिनै माग गरिसकेको छ । सरकारलाई म पुनः माग गर्न चाहन्छु ।’
सभापति देउवाले स्वास्थ सामग्री खरिद गर्दा गम्भीर भ्रष्टाचार भएको विवरण सञ्चार माध्यमहरूमा आएभन्दै चिन्ता जनाए ।
‘तपाईंहरूले निडरता पूर्वक लेख्नु भयो । प्रधानमन्त्रीले धन्यवाद दिएर दोषीलाई कार्वाही गर्नुपर्नेमा उल्टै संचार माध्यम र सामाजिक संजालले अस्थिरता फैलाएको आरोप लगाउनु भयो’, उनले भने ।
‘म उहाँलाई प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति नराख्न फेरि पनि आग्रह गर्दछु’, देउवाले भने, ‘संचार माध्यमले औंल्याएका गल्ती सच्याउंदै अघि बढ्न प्रधानमन्त्रीले जरुरी छ ।’
‘लकडाउन भएको दुई महिना पूरा भयो, प¥याप्त परीक्षण छैन । क्वारेन्टाइन कि गाई गोठ ? शोध्नुपर्ने स्थिति छ । पर्याप्त स्वास्थ सामग्री छैन । अत्यावश्यक राहतको उचित ब्यवस्थापन छैन’, उनले भने, ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार गर्ने कुनै योजना छैन । यस्तो स्थितिमा मिडियाले अझै खरो ढंगले आवाज उठाउन जरुरी छ ।’
‘लकडाउनले समाजका सबै गतिविधि बन्द भएका बेला अनियमितता, बेथिति, भ्रष्टाचार र अलोकतान्त्रिक व्यवहार क्रमशः थप बढ्दै जान सक्ने खतरा देखिएका छन्’, सभापति देउवाले भने, ‘यस्तो बेला मिडियाले खबरदारीको भूमिका अझै बढाउन जरुरी छ ।’
‘म निडर भएर आफ्नो कलम चलाउन तपाईंहरुलाई आग्रह गर्दछु । मेरो सदैव साथ तपाईंहरूलाई रहनेछ’, देउवाले भने, ‘अन्त्यमा फेरि पनि नेपाल प्रेस युनियनलाई स्थापना दिवसको हार्दिक शुभकामना छ ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया