कांग्रेस नेता एवम् नेविसंघका पूर्व केन्द्रीय सदस्य चन्दको निधन

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय सदस्य राजबहादुर चन्दको निधन भएको छ ।

वरिष्ठ अधिवक्ता समेत रहेका कांग्रेस नेता चन्दको शुक्रबार राति ६५ वर्षको उमेरमा निधन भएको नेपाली कांग्रेसद्वारा शनिबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा नेता चन्दको निधन भएको थियो । कांग्रेस नेता चन्द मृगौला सम्बन्धी रोगबाट पीडित थिए ।

विक्रम संवत २०३६ देखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका स्वर्गीय चन्द नेपाल बार एशोसिएसन बैतडीको जिल्ला अध्यक्ष र डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए), बैतडीको उपाध्यक्ष समेत थिए ।

स्व.चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । नेता चन्दका दुई छोरा र तीन छोरी छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता चन्दको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपाली कांग्रेस बैतडीका पूर्व महासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य वरिष्ठ अधिवक्ता राजबहादुर चन्दको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।

‘स्वर्गीय चन्दले पार्टीको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो’, उनले भनेका छन्, ‘चन्दको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ ।’

‘उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, देउवाले भनेका छन्, ‘उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’

Published : Saturday, 2020 May 23, 7:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया