युवराजका लागि ओलीजी धृतराष्ट्र बन्नुभयो, सरकार डुब्ने पक्का छः कांग्रेस सांसद डा.सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम गलत रुपमा आएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कांग्रेसका सांसद डा.सिंहले कतिपय मन्त्रीहरूको रवैयाका कारण सरकार संकटमा परेको बताए । उनले अर्थमन्त्री डा.युवराज खतिवडाको गतिविधिका कारण सरकार अप्ठ्यारोमा परेको बताए ।

डा.सिंहले कम्युनिस्ट सरकारको असक्षमताका कारण सरकारको लामो आयु नरहेको बताए । ‘यो सत्ताको दिन धेरै लामो छैन’, उनले भने, ‘लकडाउन सकिएपछि जनताले सरकारलाई लकडाउन गर्नेछन् ।’

डा.सिंहले कोरोना भाईरसको संक्रमण रोक्न लगाइएको लकडाउनबाट समस्यामा परेका जनताले नै अब सरकारलाई लकडाउन गर्ने बेला आएको बताए ।

उनले जनतालाई कोरोनाबाट जीवन रक्षा र राहतका कुरामा सरकार उदासिन भएको बताए ।

डा.सिंहले संकटको घडीमा कम्युनिस्ट सरकारले ल्याएको नीति तथा कार्यक्रम पूर्णत रुपमा गलत तरिकाले आएको बताए ।

डा.सिंहले यतिबेला कोभिड १९ र त्यसप्रति उत्पन्न हुने परिस्थितिलाई सम्बोधन गर्ने गरि नीति तथा कार्यक्रम आउनुपर्नेमा स्कुलमा शिक्षकले विद्यार्थीलाई पढाउने कितावको ठेली जस्तो आएको बताए ।

‘संघीता बाँच्छ कि बाँच्दैन, लोकतन्त्र रहन्छ कि रहँदैन, गणतन्त्र रहन्छ कि हुँदैन भन्ने नीति आउनेपर्छ’, उनले भने ।

‘यो नीति तथा कार्यक्रम देशको अवस्था सबै ठीकठाक छ भन्ने जसरी आएको छ’, उनले भने, ‘शिक्षकले विद्यार्थीलाई पढाउने कितावको ठेली आएको छ ।’

श्रमिकहरूको व्यवस्थापनमा नीति तथा कार्यक्रमले उचित व्यवस्था नगरेको भन्दै कांग्रेसका सांसद डा.सिंहले कोभिड १९ बाट जीवन बचाउनुपर्ने विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताए ।

‘सरकार भ्रष्टाचारबाट गन्हाइसकेको छ’, डा.सिंहले भने, ‘अपहरणकारीलाई पनि क्लीन चिट दिनुभयो । यस्तो अवस्थाले व्यवस्था कहाँ पुग्ने हो मलाई चिन्ता छ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई धृतराष्ट्रको संज्ञा दिँदै डा.सिंहले धृतराष्ट्रको छोरा युवराज मोह भए जस्तै अर्थमन्त्री डा.युवराज खतिवडालाई सोही युवराजको भएको बताए ।

लकडाउनका बेला राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो कारपेट बिच्छ्याएर स्वागत गरेकोमा आलोचना गर्दै डा.सिंहले भने, ‘राष्ट्रपति र उहाँको छोरीहरूको जुत्ता चप्पल सेनाले बोकेको थियो । काठमाडौंमा हिँजो सेनाले जनतालाई सडकमा नाङ्गो बनाएको छ ।’

यस्तै अवस्था रह्यो भने वर्तमान सरकारको सत्ता धेरै नटिक्ने दोहोर्‍याए ।

Published : Monday, 2020 May 18, 3:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया