पूर्वआईजीपी खनालका कारण नेविसंघ नेतृ रीता पक्राउ, छाड्न अध्यक्षकाे चेतावनी

बारा । बारा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)की नेतृ रीता रिजाललाई पक्राउ गरेको छ ।

उनलाई प्रहरीले बारा जिल्लाको सिमराबाट साईबर क्राइम मुद्धाको अभियोगमा पक्राउ गरेको हो । नेपाल प्रहरीको विषयमा गरिएको टिप्पणीपछि नेतृ रिजाललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

नेविसंघकी नेतृ रिजालले नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाल त अपहरणकारी पो रहेछन् भन्ने फेसबुकमा स्टाटस लेखेकी थिइन् ।

सांसद ‘अपहरण’ प्रकरणमा पूर्व आईजीपी खनाल संलग्न हुनु, उनीसहित ‘अपहरण’मा संलग्न नेकपा नेताहरूबिरुद्ध प्रहरीले उजुरी नलिएपछि प्रहरीको बारेमा सार्वजनिक रुपमा नकारात्मक टिप्पणी हुँदै आएक छ ।

प्रहरीको मूल नारा सत्य सेवा सुरक्षणमलाई व्यंग्यात्मक शैलीमा कमरेड सेवा सुरक्षणम् बनाएर सामाजिक संजालमा राखेका थिए ।

सोही तस्विरमा आपत्ति जनाउँदै प्रहरीले नेविसंघकी नेतृ रिजाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगानाले प्रहरीले नेतृ रिजाललाई अभिव्यक्ति दिएकै अभियोगमा साइबर क्राइममा पक्राउ गरेको जनाएका छन् ।

नागरिकको अभिव्यक्ति शैली र अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने हर्कतका बिरुद्ध नेविसंघले लकडाउनलाई तोडेर सडकमा आउने वातावरण कम्युनिस्ट सरकारले बनाउँदै लगेको अध्यक्ष ढुंगानाले बताएका छन् ।

नेतृ रिजाललाई तत्काल विनाशर्त रिहाई गर्न माग गर्दै अध्यक्ष ढुङगानाले अन्यथा देशभरिका विद्यार्थी सडकमा आउने चेतावनी दिएका छन् ।

उनले प्रहरी बलमा केपी ओलीको शासन धेरै दिन टिक्न नसक्ने बताएका छन् । ढुंगानाले प्रहरीलाई कानून र संविधानअनुसार निष्पक्ष भएर चल्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2020 April 28, 10:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया