लकडाउनमा कालोबजारी गर्नेलाई वीरगञ्जमा एक लाखसम्म जरिवाना

कृष्णा यादब

वीरगञ्ज । लकडाउनका बेला कालोबजारी गर्ने व्यापारीहरूलाई वाणिज्य तथा आपूर्ति कार्यालय पर्साले जरिवाना गरेर कारबाही गरेको छ ।

बिक्री मूल्य उल्लेख नगरी सामान बिक्री गर्ने, खरिद बिल बिजक नभएका ५ व्यापारीहरूलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको बिभिन्न ठाउँमा रहेका ५ पसललाई ५ हजारदेखि १ लाखसम्मको जरिवाना गरिएको छ ।

वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा भएको अनुगमनका क्रममा कालोबजारी भएको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालय पर्साका प्रवक्ता दिलिपखंग खत्रीले जानकारी दिए ।

उनका अनुसार अनुगमनका क्रममा बिक्री मूल्य उल्लेख नगरी समान बिक्री गरेको पाइएपछि रानीघाटस्थित गोपाल ग्लोबल ट्रेडलाई १ लाख जरिवाना गरिएको छ ।

अनुगमनको क्रममा पानीट्याङकीस्थित सन्तोष जनरल स्टोर्स, प्रतिमा चोकको पुस्कर इन्टरप्राईजेज, बसपार्कको ब्याहुत किराना पसल र मुर्लीको पिन्टु किराना भण्डारलाई ५ – ५ हजार जरीवाना गरिएको छ ।

उनीहरूले खरिद बिल बिजक देखाउन नसकेकोले ५ – ५ हजार जरीवाना लिइएको प्रवक्ता खत्रीले जानकारी दिए ।

अनुगमन टोलीमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सरकारले लागू गरेको लकडाउनको फाइदा उठाइ बिक्री मूल्यभन्दा बढी मूल्य लिएर सामान बिक्री गर्ने पसलहरूलाई पनि निगारनीमा राखिएको बताएका छन् ।

लकडाउनको मौका छोपेर उपभोक्तालाई ठगिएको गुनासो आएपछि बजार अनुमगन गरिएको थियो ।

Published : Saturday, 2020 April 25, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया