कोरोना रोकथाम गर्ने बेला सरकार कार्यकर्तालाई जागिर खुवाउन लाग्योः डा.संग्रौला
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सांसद डा.डिला संग्रौलाले कम्युनिस्ट सरकार जनताप्रतिको आफ्नो जिम्मेवारीबाट पन्छिदै संकटको घडीमा पनि आफ्ना निकटस्थहरूलाई राजनीति व्यवस्थापन र जागिर खुवाउने सोँचका साथ आएको जनाएकी छिन् ।
डा.संग्रौलाले विज्ञप्ति जारी गरेर मन्त्रिपरिषदले भूमि सम्बन्धि समस्या समाधान आयोगको गठन गरेको भन्दै आपत्ति जनाइन् ।
‘जुन समय सापेक्ष छैन् । यो त बेमौसमको बासुरी बजाए जस्तै हो’, उनले भनेकी छिन्, ‘अहिले सरकारको मुख्य जिम्मेवारी भनेको महामारी नियन्त्रण, न्यूनिकरण र संक्रमितको उपचार गर्नु नै हो ।’
‘यो सरकारलाई प्रतिपक्षी दल लगायत सबैको साथ हुँदाहुँदै ठीक बाटोमा हिँड्न सकेन, जबकी सबै जनताले लकडाउनको पालना गरी सरकारलाई सहयोग गरिरहेका छन्’, उनले भनेकी छिन् ।
‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छानबिन गरी अगाडि बढ्नुको सट्टा मतियारहरुलाई समेत स्वयं सरकारले ढाकछोप गर्न लागेकोमा नेपाली जनतामा आक्रोशको भावना समेत पैदा भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
‘महामारी नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी एवं स्थानीय जनप्रतिनिधिहरुले गरेको कामको उच्च सम्मान प्रकट गर्दै सरकारको तर्फबाट सुरक्षा लगायत आवश्यक व्यवस्था मिलाउन ध्यानाकर्षण गर्दछु’, कांग्रेस नेतृ डा.संग्रौलाले भनेकी छिन् ।
‘लकडाउनको अवस्थामा रोजगारी गुमाएर अलपत्र परिरहेका मजदुर श्रमिकको उचित खानपीन र बसोबासको व्यवस्था गर्न नसक्दा भोकै नाङ्गै पैदल यात्रा हिँडिरहेका श्रमिकको समूचित व्यवस्थापन गर्न समेत सरकारसँग जोडरदार माग गर्दछु’, उनले भनेकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया