विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार गरौँः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले विश्वभरि कोरोना भाइरसको संक्रमणका बेला विदेशमा अलपत्र परेका स्वदेश आउन चाहने नेपालीलाई तत्काल आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समन्वय विभाग प्रमुख गोविन्द भट्टराईले बिहीबार प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पत्र लेख्दै रोजगारी, अध्ययन वा अन्य कुनै पनि काममा विश्वका जुनसुकै मुलुकमा गएका नेपालीको स्वास्थ्यका बारेमा सरकारले चासो लिइ उनीहरूको हितमा आवश्यक कदम चाल्न आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण विश्व अर्थतन्त्रमै गम्भीर समस्या उत्पन्न भएको भन्दै केन्द्रीय सदस्य भट्टराईले भनेका छन्, ‘यस्तो अवस्थामा विभिन्न देशमा रहेका नेपाली, जो नेपाल आउन चाहन्छन्, उनीहरूलाई तत्काल कूटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था गर्नुपर्छ ।’

‘विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याएपछि उनीहरूलाई कम्तीमा पनि २१ दिनसम्म क्वारेन्टाइनमा राख्ने प्रबन्ध तत्काल गर्न आवश्यक छ’, उनले भने, ‘होटल व्यवसायी, स्कुल र कलेज सञ्चालकले आफ्नो भवन सरकारले चाहेमा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने भनेका छन् ।’

‘सरकारले तत्काल काठमाडौंलगायतका अन्य क्षेत्रका होटल, स्कुल र कलेजलाई आवश्यकताअनुसार क्वारेन्टाइन बनाओस्’, कांग्रेसले भनेको छ, ‘जसले विदेशबाट आएका नेपालीलाई निश्चित समयसम्म क्वारेन्टाइनमा सुरक्षितरुपमा राख्न सकियोस् ।’

कांग्रेस नेता भट्टराईले नेपाल प्रवेशका लागि सिमानासम्म पुगेका नेपाली नागरिकलाई नेपालभित्र क्वारेन्टाइन बनाएर राख्नुपर्ने र विदेशमा रहेका केही नेपालीको प्रवेशाज्ञाको समस्याका सन्दर्भमा त्यस्ता नेपालीलाई नेपाल ल्याउने वा निश्चित समयका लागि प्रवेशाज्ञा थप्न तत्काल कूटनीतिक पहल गर्नुपर्ने आग्रह गरेका छन् ।

कांग्रेसले आवश्यक स्वास्थ्य सामग्री तत्काल खरिद गरी कोरोनाविरुद्धको तयारी चुस्त बनाउन, स्वास्थ्य सामग्रीको गुणस्तरमा अन्तरर्राष्ट्रिय मापदण्ड पूरा गरेर मात्रै खरिद गर्ने गरी मापदण्ड बनाउन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको रोजगारी गुम्ने खतरा रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य भट्टराईले त्यसको पूर्वतयारीस्वरुप सरकारले अहिले नै उनीहरूका लागि रोजगारीको विशेष कार्यक्रमको तयारी शुरु गर्न आवश्यक रहेको पत्रमा उल्लेख गरेका छन् ।

Published : Thursday, 2020 April 16, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया