कांग्रेसले सरकारको मुख ताकेन, कपिलवस्तुका समस्यामा परेकाहरूलाई सहायता वितरण

कपिलवस्तु । नेपाली कांग्रेस र त्यसका भ्रातृ संस्थाहरूले कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेका मजदुर र अति विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेका छन् ।

कांग्रेसको क्षेत्रीय कार्यसमिति, नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ (नेविसंघ) कपिलवस्तुले जिल्लाका १० वटा स्थानीय तहमा राहत वितरण गरेका हुन् ।

उनीहरूले क्रमशः सबै स्थानीय तहमा खाद्य सामग्री वितरण गर्ने कांग्रेसले जनाएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर कांग्रेसले सर्तकता अपनाएर खाद्य सामग्री वितरण गरेको छ ।

बुधबार मायादेवी गाउँपालिका र कपिलवस्तु नगरपालिकाका दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारका १ सय ६० घरपरिवारलाई खाद्य सामग्री वितरण गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानले खाद्य सामग्री विरतणमा कुनै पनि भेदभाव नगरेर मजदुर र अति विपन्न परिवारहरूलाई राहत दिनुपर्ने बताएका छन् ।

‘सहायता वितरणमा तेरो र मेरो नभनेर आवश्यक्ताका आधारमा सबैले हातमुख जोड्न पाउनुपर्छ’, उनले भने, ‘लकडाउनले समस्यामा परेका नागरिकालाई बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्छ । भोकका कारण मर्ने अवस्था आउन दिनु हुँदैन ।’

उनले भोकमरीका कारण कसैले पनि ज्यान गुमाउन नहुने बताएका छन् । उनले कांग्रेस र भ्रातृ संस्थाहरूले खाद्य सामग्रीहरू लिएर गाउँ टोलमा गएर मजदुर र अति विपन्न परिवारहरूलाई सहायता वितरण गरेकोमा धन्यावाद दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य मुसलमानले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न सिङ्गो देशले सरकारलाई साथ दिएका बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितता र भ्रष्टाचार गरेको भन्दै चिन्ता जनाएका छन् । उनले मानवीय पीडामा समेत भ्रष्टाचार र अनियमितता गर्नेहरूलाई खबरदारी गर्न सबैसँग आग्रह गरेका छन् ।

मायादेवी गाउँपालिकाको वडा नम्वर ३, कपिलवस्तु नगरपालिकाको वडा नम्वर ९, १० र ११ सहितका चार वटा वडामा बुधबार खाद्य सामग्रीहरू वितरण गरिएको छ ।

नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष शक्तिसिंह ठकुरीले संकटको बेला सबैले आफूले सक्ने ठाउँबाट सहयोग गर्नुपर्ने बताए । ‘लकडाउनबाट मजदुरी गर्ने र अति निम्न परिवारहरू समस्यामा छन्’, उनले भने, ‘यस्तो बेलामा हामीले सहयोग नगरेर कसले गर्छ । सरकारको मात्रै मुख ताक्नु हुँदैन ।’

कांग्रेसका उसका भ्रातृ संस्थाहरूले कपिलवस्तु क्षेत्र नम्बर १ मा ६५० घरपरिवारलाई खाद्य सामग्रीसहितको राहत वितरण गरिसकेका छन् ।

खाद्य सामग्री विरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अतहरकमाल मुसलमान, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्वर १ का सभापति शालिकाराम थारु, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्वर १ का सचिव प्रेमनारायण पौडेल, तरुण दलका अध्यक्ष शक्तिसिंह ठकुरी, तरुण दल क्षेत्र नम्वर १ का अध्यक्ष तिलक थापा, नेपाल विद्यार्थी संघ (नेविसंघ) क्षेत्र नम्बर १ का अध्यक्ष चन्द्रकान्त पोख्रेल, वाणगंगानगर कार्य समितिका कार्यबाहक सभापित विष्णु थापा लगायतको उपस्थिति रहेको थियो ।

Published : Wednesday, 2020 April 15, 9:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया