बैंकहरूकै मिलेमतोमा रकम चोरी, एनसेलको शैली अपनाउँदै बाणिज्य बैंकहरू

काठमाडौं । महानगरिय प्रहरी परिसर काठमाडौंले चेक नै नक्कली बनाएर झन्डै २० लाख रुपियाँ जनता बैंकबाट निकाल्ने गिरोहका सदस्यलाई पक्राउ गरेसँगै बाणिज्य बैंकहरू नै शंकाको घेरामा परेका छन् ।

परिसरको टोलीले बानेश्वर शाखामा खाता रहेका गोपालमान राजबाहकको खाताको पैसा नक्कली चेक बनाएर १९ लाख ९९ हजार रुपियाँ निकाल्ने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरेसँगै प्रहरीको अनुसन्धान बैंकहरूतर्फ मोडिएको छ ।

मोवाइल सेवा प्रदायक एनसेलको शैलीमा बैंकमा अनधिकृत रुपमा ग्राहक बढाउने होडबाजी चल्दा बैंकको सुरक्षा प्रणाली पनि कमजोर बन्दै गएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक उच्च अधिकारीका अनुसार बैंकका कर्मचारीको मिलेतोविना कसैले पनि नक्कली चेक बनाएर नक्कली हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकाल्न सक्दैनन् । यसमा बैंककै कर्मचारीहरूको मिलेमतो देखिन्छ ।

बुधबार पक्राउ परेका अन्जन बरालमाथि अनुसन्धान गर्दा बैंकका कर्मचारीहरूको पनि मिलेमतो देखिएको ती प्रहरी अधिकारी बताउँछन् ।

आइतबार जनता बैंकको ग्वार्को शाखा पुगेर बरालले आफू गोपालमान भएको र आफ्नो चेक हराएको भन्दै नयाँ चेक बनाउन फारम भरेका थिए ।

उनले बैंकका कर्मचारीले मागेको आवश्यक कागजपत्र समेत उपलव्ध गराए । तर, बैंकका कर्मचारीले उनी गोपालमान हुन् वा होइनन् भन्ने खोजेनन् । उल्टै चेकबुक पाएपछि बराल नयाँ बानेश्वरमा रहेको जनता बैंकको शाखामा पुगे ।

बरालले गोपालमानले थाहा नपाउन भनेर आफू एनटीसीको कर्मचारी भएको भन्दै गोपालमानलाई फोन गरी तपाईको सिम ह्याक भएको छ मोबाइल अफ गर्न भनेर ९ लाख ९९ हजारको चेक साटे ।

त्यहाँ पनि खातावाला, रकम झिक्ने व्यक्ति र नागरिकताको फोटोकपी हेरिएन । बरालले त्यहाँ गोपालमानकै नागरिकता दिंदा समेत बैंकका कर्मचारीले वास्ता नगरेका हुन् वा मिलेमतोमा रका दिइएको हो ? भन्नेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी बरालकै समूहका मनिष श्रेष्ठ र शुभाष श्रेष्ठले पनि न्यूरोड शाखाबाट ५–५ लाख रकम झिकेको खुलेको छ ।

यसरी रकम चोरी गर्ने समूहका सदस्य गोविन्द घिमिरे सेटिङका नाइके रहेको र उनको विभिन्न बैंकका कर्मचारीहरूसँग घनिष्ट सम्बन्ध रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले काभ्रे पाँचखाल घर भई हाल कालिमाटी बस्ने सुभाष श्रेष्ठ, कुमार तामाङ, मनीष घिमिरे, अन्जन बराल बाग्लुङ गलकोटका बुद्धनगर बस्ने सुमन पौडेल र सिन्धुपाल्चोक साविक ज्यामिरे–९ घर भई हाल सुविधानगर बस्ने गोविन्द घिमिरेलाई पक्राउ गरी वैंकिङ्ग कसुरमा पाटन उच्च अदालतवाट ७ को म्याद थप गरी अनुसन्धान थालेको छ ।

उनीहरुको साथबाट प्रहरीले १९५ जनाको विभिन्न व्यक्तिको वैंक स्टेटमेन्ट, जनता बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको १६ थान चेकबुक र काटिएको अवस्थाको ४१ थान चेकबुक बरामद गरेको छ ।

ज्योति विकाश बैकबाट अन्जन बरालको नाममा जारी भएको १ थान चेकबुक, एभरेष्ट बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको २० थान चेकबुक र काटिएको अवस्थाको ३ थान चेकबुक पनि बरामद गरेको छ ।

माछापुच्छ्रे बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अबस्थाको १७ थान चेकबुक र काटिएको अवस्थाको २ थान चेकबुक, मुक्तिनाथ विकास बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको ४१ थान चेकबुक र नकाटिएको १ थान चेकबुक तथा एनआईसी एशिया बैकबाट बिभिन्न व्यक्तिहरूको नाममा जारी भएको काटिएको अवस्थाको ६८ थान चेकबुक पनि बरामद भएको छ ।

एनआईसी एशिया बैककै ८२ थान एटीएम कार्ड तथा अन्य बैंकको ७ थान एटीएम कार्ड पनि प्रहरीले बरामद गरेको छ । बिभिन्न ब्यक्तिहरूको नाममा रकम उल्लेख गरी हस्ताक्षर गरेको अवस्थाका विभिन्न बैकबाट बिभिन्न ब्यक्तिका नाममा जारी भएका ३२९ थान नक्कली चेकहरू पनि बरामद भएका छन् ।

प्रहरीले विभिन्न वैंकहरुका ठूलो परिमाणमा चेकवुक, खाता खोल्न तयार रहेका फर्महरु, एनआईसी वैंकको भिसा कार्ड, विभिन्न व्यक्तिहरूको नागरिकताको फोटोकपी, प्रयोग भएका हस्ताक्षरका नक्कलहरू समेत वरामद गरेको छ ।

Published : Friday, 2019 November 29, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया