बिरामीहरूको ज्यान बचाउन कांग्रेसको भ्रातृ संस्थाद्वारा रक्तदान

काठमाडौं । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिको आयोजना र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको व्यवस्थापनमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौंको बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालको प्राङ्गणमा मंसिर ७ गते बिहान ८ बजेदेखि २ बजेसम्म भएको रक्तदान कार्यक्रममा १०५ भन्दा धेरैले रक्तदान गरेका थिए ।

नारायणप्रसाद नेपालबाट शुरु गरिएको रक्तदान कार्यक्रममा नेपाल राष्ट्रिय मगर संघका वरिष्ठ उपाध्यक्ष दिनेश थापा मगर, महेन्द्रनारायण निधि मेरोरियल अस्पतालका अध्यक्ष भानुभक्त ढकाल, अमिका निधि, माया राना, धनकुमारी राना, दीपा आलेमगर, सरिता रानामगर लगायतले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघका सभापति ओम थापाले संगठन विस्तारसंगै सामाजिक कार्यहरूमा पनि आफ्नो सक्रियता बढाउँदै जाने उद्देश्यका साथ रक्तदान कार्यक्रम गरिएको बताए । उनले सामाजिक कार्यलाई आगामी दिनमा निरन्तरता दिइने बताए ।

अस्पतालका प्रमुख भानुभक्त ढकालले रक्तदान नै जीवनदान भएको भन्दै समाजको हितका लागि आफूहरूले नयाँ अस्पताल सञ्चालन गरी बढीभन्दा बढी सेवा र सुविधा जनतालाई दिन खोजिएको बताए ।

नेपाल राष्ट्रिय मगर संघका वरिष्ठ उपाध्यक्ष दिनेश थापा, कोषाध्यक्ष कृष्ण थापा मगर, अस्पतालका डा.दीपेन्द्र शाह, गीता थापा मगर लगायतले जीवनदानको लागि रक्तदान गर्नुपर्ने धाराणा राखेका थिए ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिको स्मृतिमा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पताल छिटै नै सञ्चालनमा आउने भएको छ ।

आफ्नै नयाँ भवनमा १ सय बेडको अस्पतालमा सञ्चालन हुन लागेको नेपाल राष्ट्रिय मगर संघका कोषाध्यक्ष तथा अस्पताल संचालक कृष्ण थापा मगरले बताए ।

Published : Thursday, 2019 November 28, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया