कांग्रेसका पूर्वसभापतिको निधन भएपछि देउवा भावक बने
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुलीका पूर्वसभापति एवं महासमिति सदस्य रंगराज खतिवडाको निधन भएकोमा शोक व्यक्त गरेका छन् ।
सिन्धुली फर्कने क्रममा खतिवडाको निधन भएको थियो । पिता नारायणप्रसाद खतिवडा र माता मोहनकुमारी खतिवडाको सुपुत्रको रुपमा विक्रम संवत २००० वैशाखमा जन्मनु भएका स्वर्गीय खतिवडाले नेपाली कांग्रेस सिन्धुलीको जिल्ला कार्यसमितिको सदस्य, सचिव, लामो समयसम्म महासमिति सदस्य र पटक–पटक जिल्ला सभापति समेतको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।
सभापति देउवाले नेपाली कांग्रेसमा निरन्तर क्रियाशील रहेर स्वर्गीय खतिवडाले पार्टीको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा अनवरत रुपमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै स्मरण गरेका छन् ।
कमलामाई नगरपालिका वडा नं. १ डाडीगुरासे निवासी खतिवडाको पार्थिव शरीरलाई बुधबार गृह जिल्लामा दाहसंस्कार गरिएको छ ।
खतिवडाको निधनप्रति नेपाली कांग्रेसका सभापति देउवाले गहिरो दुःख व्यक्त गरेको शोक वक्तव्यमा उल्लेख छ ।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुलीका पूर्व सभापति एवं वर्तमान महासमिति सदस्य रंगराज खतिवडाको निधनको खबरले मलाई स्तब्ध र दुखित बनाएको छ’, देउवाले भनेका छन्, ‘स्वर्गीय खतिवडाले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो ।’
‘उहाँको निधनबाट पार्टीले एक कुशल नेतृत्व एवं संगठनकर्तालाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ’, देउवाले भनेका छन्, ‘उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’
‘नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ’, शोक वक्तव्यमा भनिएको छ, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया