दुईतिहाइले ओलीको उपचार र प्रचण्डको परिवार पाल्ने मात्रै काम भयोः उत्तम चापागाइँ

भक्तपुर । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले अधिनायकवादलाई परास्त गर्नका लागि लोकतान्त्रिक शक्तिलाई मतदान गर्न अपील गरेका छन् ।

भक्तपुरमा बुधाबार नेपाली कांग्रेसले आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै चापागाइँले कम्युनिस्ट अधिनायकवादलाई अन्त्य गर्ने उचित मौका आएको बताए ।

‘फेरि एक पटक कम्युनिस्ट अधिनायकवादविरुद्ध एकजुट हुने बेला आएको छ’, उनले भने, ‘०७ सालदेखि निरन्तर परिवर्तनको पक्षमा आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले उपनिर्वाचनमार्फत कम्युनिस्ट अधिनायकवादलाई परास्त गर्नुपर्छ ।’

‘कम्युनिस्ट अधिनायकवादलाई सचेत र खबरदारी गर्न आएका छौँ । यो निर्वाचनबाट सत्ता परिवर्तन हुनेछैन । नयाँ सरकार बन्ने छैन’, उनले भने, ‘यो उपनिर्वाचनबाट निरंकुशहरूले बुझ्न जरुरी छ । मान्छे मारेर आएर सत्तामा बसेकाहरूलाई सबक सिकाउनुपर्नेछ । लोकतन्त्रको परिभाषा बुझाउनुपर्नेछ ।’

नेपाली कांग्रेसको नेतृत्वमा आएको संविधान कार्यान्वयनमा प्रधानमन्त्री केपी ओलीले उदाशीनता देखाएको बताए । उनले कम्युनिस्टहरूले बनाउन नसकेको संविधान नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको भन्दै संविधान उल्लंघन नगर्न ओलीलाई चेतावनी दिए ।

‘संविधानसभाबाट कम्युनिस्टले संविधान बनाउन सकेन । सुशील कोइराला र नेपाली कांग्रेसले संविधान बनाए’, उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले जंगलमा बसेर आतंक मच्चाउने माओवादीलाई शान्ति प्रक्रिया ल्याउनुभयो’, उनले भने, ‘हामीले दिएको संविधानले केपी ओली प्रधानमन्त्री बनेका छन् । त्यही संविधान मिच्ने काम ओलीले गरेका छन् ।’

‘भक्तपुरबाट यी मुर्ख कम्युनिस्टहरूलाई सबक सिकाउनुपर्छ’, उनले भने, ‘जनतालाई राहत दिने सोँचेका थियौँ । तर उद्योग, शैक्षिक संस्था खुल्नेछन् भनेका थियौँ । खुलेनन् । खुलेका पनि बन्द भएका छन् ।’

‘देशमा कम्युनिस्टहरूले भ्रष्टाचार गरेका छन्, मूल्य वृद्धि भएको छ । राष्ट्रपति पदलाई विवादित बनाउने काम भएको छ’, चापागाइँले भने, ‘उदण्डता देखाए जितेका नेकपाका सांसदहरूले आफ्नो हैसियतमा बस्नुपर्छ ।’

‘भ्रष्टाचार गरेर पैसा कमाएका नेकपाका जनप्रतिनिधिहरूलाई सबक सिकाउन कांग्रेसले जित्नुपर्छ । निर्वाचन बिथोल्ने काम भएको सुनेको छु’, उनले भने, ‘भोटबाट कति दिन भाग्छौँ सरकार । नेपाली कांग्रेसले निर्वाचन जित्छ । निर्वाचन भाँड्ने प्रयास भयो भने विरोधको सामना गर्न तयार भएर बस्नु होला ।’

‘दुईतिहाइले बहुमतले केपी ओलीको उपचार र प्रचण्डको सन्तानलाई तलब भत्ता दिनेभन्दा अर्को काम भएको छैन’, उनले भनेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ ‘क’मा उम्मेदवार बनेका कृष्णलाल भँडललाई मतदान गर्न नेपाल तरुण दलका उपाध्यक्ष चापागाइँले अपील गरेका छन् ।

Published : Wednesday, 2019 November 27, 10:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया