हाइप्राेफाइल ज्वाइँ–जेठानकाे षडयन्त्रमा राष्ट्र बैंक, कम्युनिस्ट सरकार चुपचाप

काठमाडौं । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र कार्यकारी निर्देशक लक्ष्मी निरौलाका कारण केन्द्रीय बैंकको गोपनीयता गम्भीर खतरामा परेको आरोप लागेको छ ।

यतिमात्र होइन नातामा जेठान पर्ने सिवाकोटी र ज्वाइँ पर्ने निरौलाको मिलेमतोमा विभागीय खरिदलगायतका सामानमा ठूलो रकम हिनामिना भएको आशंका गरिएको छ । उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी दिन लागेको स्रोतले जनाएको छ ।

राष्ट्र बैंकको ‘नोट भेरिफाइङ मेसिन’ खरिदमा सिवकोटी र निरौलाको मिलोमतोमा अनियमतिता भएको समेत आरोप लगाइएको छ । नोट छाप्ने मेसिन खरिदमा पनि यस्तै चलखेल भएको आरोप लागेको छ । मुद्रा व्यवस्थापन विभागको जिम्मा निरौलाको हो । उक्त विभागको जिम्मा राष्ट्र बैंक सञ्चालक समितिले सिवाकोटीलाई दिएको छ ।

‘नोट छाप्ने, के खरिद गर्ने भन्ने विषयमा भएका कतिपय निर्णय ठेक्का हाल्ने कम्पनीलाई पुग्ने गरेको छ । यस्तो काम विभागीय जिम्मेवारी लिएकाबाहेकले गर्न नै सक्तैन’, राष्ट्र बैंक स्रोतले भन्यो,‘यसमा सिवाकोटीको ग्रिन सिग्नल र निरौलाका निर्णय नै बलियो हुन्छ ।’

राष्ट्र बैंकमा नोट छाप्ने, भेरिफाई गर्ने, नोट गन्ने मेसिनको करोडौंको ठेक्का आह्वान हुने गरेको छ । यस्तो प्रक्रियामा सिवाकोटी र निरौलाको मिलोमतो बलियो रहेको आरोप लगाउँदै त्यसवापत आएको कमिशन अमेरिकासम्म पु¥याउने गरेको बताइएको छ ।

सिवाकोटीकी पत्नी कमला ओझा साधारण बैंकर हुन् । तर, उनले राष्ट्र बैंकमा बुझाएको सम्पत्ती विवरणमा एक करोड भन्दा ज्यादा लगानी पत्नी, छोराछोरी र आफ्नो नाममा समेत देखाएका छन् ।

गभर्नरको दौडका लागि तयार रहेका सिवाकोटीले देखाएको सम्पत्ति विवरणमा एक मोटरसाइकल र पत्नी ओझाका नाममा एक स्कुटर देखाएका छन् । तर उनीसँग नीजि गाडी समेत रहेको स्रोतको दाबी छ ।

अमेरिकामा रहेका दुई छोरी सलुजा र समीक्षा सिवाकोटीको अध्ययनदेखि हाइप्रोफाइल जीवन शैली बिताउने खर्च सिवाकोटीले नेपालबाट नै पठाउने गरेको स्रोतको दाबी छ । ‘विशेष पद भए पनि उनको आम्दानीका हिसाबले लगानी, छोरीहरूको अध्ययन र खर्च पुर्‍याउन सकिँदैन, सिधा देखिने कुरा हो’, उच्च स्रोतले भन्यो ।

सिवाकोटीको माछापुच्छ्रे बैंक, नबिल बैंक, सिद्धार्थ, कृषि विकास बैंकलगायतमा खाता छन् । तलबभत्ता, बैंक कर्जालगायतका विभिन्न शीर्षक राखी एक करोड भन्दा बढीको शेयर लगानी विभिन्न वित्तिय संस्था, हाइड्रोलगायतमा सिवाकोटीले गरेका छन् ।

बैंकिङ क्षेत्रको नियमनकारी निकायको विशेष पदमा रहेका व्यक्तिले आफ्ना नाममा त्यसरी लगानी गर्न नमिल्ने नैतिक परिपाटी रहेको एक पूर्वगभर्नर बताउँछन् ।

उनले बुझाएको सम्पत्ति विवरणमा नै कतिपय आयआर्जनको शीर्षक खुलाइएको छैन । साथीभाईलाई सापट दिएको रकम २५ लाख देखाइएको छ जबकि त्यसको स्रोत खुलाएका छैनन् भने विरोधाभाष जस्तो देखिने ग्लोबल आईएमई बैंकको २७ लाख कर्जा देखाएका छन् ।

सिवाकोटी आगामी गभर्नरका लागि दौडमा छन् । राजनीतिक दलको लविङमा लागेका उनका विवादीत विवरणका विषयमा छानबिन हुनुपर्ने कतिपय कर्मचारीको मत रहेको छ ।

वरिष्ठ रहेका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सम्पत्ती शुद्धिकरणमा उजुरी परेपछि छानबिन चलिरहेको छ । उनी निलम्बन भएको अवस्थामा डेपुटी गभर्नर मध्येमा सिवाकोटीको नाम सिफारिस हुन सक्छ । तर, सिवाकोटी आफैं पनि विभिन्न अभियोगका कारण शंकाको घेरामा छन् ।

यता, एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा पाएको छानबिन समिति विवादमा तानिएको छ । समितिको काममा चित्त नबुझेको भन्दै त्यसका एक सदस्य रामजी रेग्मीले राजीनामा दिइसकेका छन् । राष्ट्र बैंक सञ्चालक समितिले श्रीराम पौडेलको संयोजकत्वमा रेग्मीसहित सुवोधराज कर्णको तीन सदस्यीय समिति गठन गरेको थियो ।

रेग्मीले छानबिन प्रक्रिया, तरिका र विषयबस्तु नै नमिलेको भन्दै राजीनामा दिएको बताइएको छ । अभियोगका आधारमा भनेजस्तो प्रमाण कसरी पाउन सकिन्छ ? विभागीय जिम्मेवारीमा नै नपरेका विषयमा कसरी सोध्ने ? निर्णय गर्ने अधिकार कसरी हुन्छ भन्ने नीतिगत त्रुटी रहेको भन्दै रेग्मीले राजीनामा दिएको बताइन्छ । सिवाकोटी र निरौलामाथि लागेको आरोपका विषयमा बुझ्न खोज्दा दुवैजना सम्पर्क आउन सकेनन् । (जनप्रहार साप्ताहिकबाट साभार)

Published : Tuesday, 2019 November 26, 7:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया