कांग्रेसद्वारा सैनामैनामा प्रदर्शन, भण्डारी र खतिवडा सहभागी

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका शुभेच्छुक संस्थाहरूले कम्युनिस्टहरूको खोक्रो राष्ट्रवादका विरुद्ध प्रदर्शन गरेका छन् ।

रुपन्देही जिल्लाको सैनामैनामा सोमबार कांग्रेसका शुभेच्छुक र भ्रातृ संस्थाहरूले भारतले सिमाना मिचेको विरुद्ध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा भारत र खड्गप्रसाद ओलीविरुद्ध नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले नारावाजी गरेका थिए ।

उनीहरूले राष्ट्रवादी कम्युनिस्ट सरकारलाई भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता गर्न कुटनीतिक पहल गर्न माग गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले देशको सीमा सुरक्षा गर्न नसक्ने सरकारको कुनै औचित्य नभएको बताए ।

उनले देशको सिमाना मिचिदा समेत बोल्न नसक्ने सरकारको कुनै औचित्य नभएको बताए ।

भण्डारीले खोक्रो राष्ट्रवादको भर्‍याँङ्बाट सरकारमा पुगेको कम्युनिष्टको राष्टवाद उदाङ्गीएको बताए ।

नेपाली भूमि लुपुलेक कालापानी, लिम्पियाधुरामा भारतले सीमा मिचेर भारतीय सेना राख्दा समेत कम्युनिस्ट सरकार एक शब्द बोल्न नसकेको भन्दै भण्डारीले आक्रोश पोखे ।

उनले ओली सरकारबाट केही कुराको पनि आशा गर्न नसकिने बताए । ‘हाम्रो भूमि मिचिएको छ, सरकार एक शब्द बोल्न सक्दैन,’ उनले भने, ‘यस्तो सरकारबाट अरु के आशा गर्न सकिन्छ ?’

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सीमाको समस्या कुटनीतिक पहलबाट हुनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले भनिरहँदा समेत कम्युनिस्ट सरकारले कुनै कदम चाल्न नसक्नु दुःखद भएको बताए ।

नेपाल मगर संघ रुपन्देहीका सभापति मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला संघ रुपन्देहीकी सभापति गंगा शाही, नेपाली कांग्रेस सैनामैनाका सभापति रामप्रसाद अधिकारी, रामवली चौधरी लगायतले सीमा रक्षामा सरकारले पहल नगरेको भन्दै आक्रोस व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकले भारतीय भूमिमा पाएको नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा नेपाली भूमिमा नसच्याउँदासम्म आन्दोलन जारी रहने बताए ।

नेपाली कांग्रेस रुपन्देहीको निर्देशन तथा सैनामैना नगर समितिको समन्वयमा नेपाल राष्ट्रिय मगर संघ र नेपाल आदिवासी जनजाती संघले सोमबार रुपन्देहीको सैनामैनामा भारत र कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलको गृहजिल्ला समेत रहेको रुपन्देहीमा नेपाली कांग्रेसले राष्ट्रियताको पक्षमा प्रदर्शन गरेको छ ।

बालुवाटारको सरकारी जग्गा कब्जा काण्डमा परेका पौडेलको पनि कार्यक्रममा आलोचना भएको थियो ।

Published : Monday, 2019 November 25, 9:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया