कम्युनिस्टहरूले जनतामाथि विश्वासघात गरेः शंकर भण्डारी

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले जनतामाथि कम्युनिस्टहरूले ठूलो विश्वासघात गरेको बताएका छन् ।

गृहजिल्ला तनहुँको ऋषिङ गाउँपालिकाको झापुटारमा नेपाली कांग्रेसले सोमबार राखेको कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले जनताको भरोसामाथि कम्युनिस्टहरूले घात गरेको बताए ।

‘जनताले भरोसा गरेर कम्युनिस्टहरूलाई मतदान गरे । कम्युनिस्टहरूले जनतामाथि नै घात गरेका छन्’, उनले भने, ‘नेकपाले जितेका ठाउँमा अराजकता, अशान्ति, लुट, आतंक मच्चाएका छन् ।’

‘भ्रष्टाचारलाई संस्थागत गर्ने, लाखौँमा होइन अर्बमा भ्रष्टाचार गर्ने । अनि नेपाली कांग्रेसलाई गाली गर्ने काम कम्युनिस्टहरूले गरेका छन्’, भण्डारीले भने, ‘कम्युनिस्टहरूले विभिन्न देशहरूसँगको बाहिरी सम्बन्ध पनि बिगार्ने काम गरेका छन् । त्यसको आरोप पनि कांग्रेसलाई लगाएर गाली गर्नेछन् ।’

झण्डै दुईतिहाइको बहुमत पाउँदा पनि कम्युनिस्टहरूले काम गर्न नसकेको उनले बताए ।

‘कम्युनिस्टहरूले कांग्रेसले जित्यो भने वृद्धभत्ता काट्छ भनेर प्रचार गरेका छन् । बागलुङमा दलित परिवारलाई पनि भड्काएका रहेछन्’, उनले भने, ‘नारा र भाषा हामीले मीठो शब्द प्रयोग गर्न सकेनौँ होला । सामाजिक सुरक्षा भत्ता हामीले ल्याएको हो ।’

‘सामाजिक सुरक्षा भत्तामा कांग्रेसको सरकारले रु. ५० दियो’, नेपाली कांग्रेसका नेता भण्डारीले भने, ‘अर्को वर्ष समाजिक सुरक्षा भत्ता बढाएर १ सय रुपियाँ बनायौँ ।’

‘०५१ सालको मध्यावधी चुनाव भयो । एमालेको अल्पमतको सरकार बन्यो । त्यो सरकारले सामाजिक सुरक्षा भत्तालाई वृद्ध भत्ता भन्यो’, उनले भने, ‘त्यो नीति र कार्यक्रम ल्याउने नेपाली कांग्रेस हो ।’

कम्युनिस्टहरूले पहिलो संविधान सभाबाट संविधान बनाउन नसक्दा नेपाली कांग्रेसले दोस्रो पटक चुनाव जितेर ठूलो पार्टी बनेर संविधान बनाएको उनले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन गराएर संविधान कार्यान्वयनमा अगाडि बढेको भण्डारीले बताए ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले आफैले व्यक्तिगत खर्चमा ऋषिङ गाउँपालिकाका मगर समुदायलाई पञ्चेबाजा दिएका छन् ।

हराउँदै गएको पञ्चेबाजा बजाउने संस्कृति र परम्परालाई बचाइ राख्न भण्डारीले मगर समुदायहरूलाई मञ्चेबाजा दिएका हुन् ।

Published : Monday, 2019 November 25, 9:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया